काठमाडौं, १८ असार । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष **पुष्पकमल दाहाल ‘प्रचण्ड’**ले संघीय निजामति सेवा विधेयक पारित गर्ने क्रममा गम्भीर षड्यन्त्र भएको दाबी गरेका छन्। उनले विधेयकमा भएको चलखेल र छेडछाडलाई गम्भीर रूपमा लिएर छानबिन गरी दोषीमाथि कारबाही अगाडि बढाइने स्पष्ट पारेका छन्।
योङ कम्युनिष्ट लिग, नेपाल (वाइसिएल) को केन्द्रीय पदाधिकारी बैठकलाई मङ्गलबार पेरिसडाँडामा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने,
“परिवर्तनका उपलब्धिहरू उल्ट्याउने षड्यन्त्र हुँदै आएको छ। संघीय निजामति विधेयकमा पनि षड्यन्त्र भएको देखिएको छ। कसले बदमासी गर्यो भन्ने कुरा छानबिन हुन्छ, चलखेल र छेडखानी गर्ने प्रवृत्तिमाथि कारबाही गरिन्छ।”
उनले विगतमा पनि संविधान र जनताको बलिदानबाट प्राप्त उपलब्धिहरूमाथि प्रतिगामी हमला हुने प्रयासहरू हुँदै आएको उल्लेख गर्दै भने,
“यथास्थितिवाद र प्रतिगमन उल्ट्याउने प्रयास भइरहेका बेला हामीले प्रतिवाद गरेका थियौं। अहिले पनि त्यही प्रवृत्ति दोहोरिएको छ।”
संसदको राज्य व्यवस्था तथा सुशासन समितिले लामो छलफलपछि संघीय निजामति सेवा विधेयक तयार पारेको थियो। उक्त विधेयकमा कर्मचारीलाई अवकाशपछि दुई वर्षसम्म “कुलिङ पिरियड”को व्यवस्था गरिएको थियो। तर प्रतिनिधिसभामा विधेयक पारित गर्ने क्रममा ‘बाहेक’ भन्ने शब्द थपिएपछि चौतर्फी आलोचना सुरु भएको छ।
अध्यक्ष प्रचण्डले वाइसिएल नेपाललाई पार्टीको विचार, नीति तथा विधानप्रति पूर्ण प्रतिबद्धता जनाउँदै संगठनात्मक रूपमा अझ बलियो बनाउँदै लैजान आग्रह पनि गरे।


