पोखराको पुम्दिकोटमा केबलकार निर्माण हुँदै, लगानी १ अर्ब ६० करोड

पोखरा,१६ असार । चितवनको कोई ग्रुप र अग्नि ग्रुपले संयुक्त लगानीमा पोखराको पुम्दिकोटमा केबलकार निर्माण गर्ने भएका छन्। दुई व्यवसायिक घरानाले पुम्दिकोट महादेव केबलकार सञ्चालनका लागि १ अर्ब ६० करोड ४० लाख रुपैयाँ लगानी गर्ने घोषणा गरेका हुन्।

कम्पनीका अनुसार परियोजनामा ८० प्रतिशत बैंकको ऋण र २० प्रतिशत स्वपुँजीको संरचना तय गरिएको छ। केबलकारको पूर्वाधार विकासका लागि हाल जग्गा प्राप्तिको प्रक्रिया अघि बढाइएको छ। परियोजना आगामी वर्ष जुलाई २०२६ को मध्यसम्म सम्पन्न गर्ने लक्ष्य लिएको छ।

पुम्दिकोट महादेव केबलकार परियोजना सन् २०२३ मा दर्ता गरिएको हो। केबलकारको कुल लम्बाइ १.१ किलोमिटर रहेको छ भने प्रतिकिलोमिटर लागत १ अर्ब ४५ करोड रुपैयाँ पर्ने अनुमान गरिएको छ। माथिल्लो र तल्लो स्टेशनसहितका पूर्वाधार विकास कार्य परियोजनामा समावेश छन्।

यो परियोजना पोखरा महानगरपालिकाको पुम्दिकोट क्षेत्रलाई पर्यटकीय केन्द्रको रूपमा थप प्रवर्द्धन गर्ने उद्देश्यसहित अघि बढाइएको छ। निर्माणमा चितवनको कोई ग्रुपका सञ्चालक राजेशबाबु श्रेष्ठ र अग्नि ग्रुपका अर्जुनप्रसाद शर्मा नेतृत्वदायी भूमिकामा रहेका छन्।

 

 

Share:

सम्बन्धित समाचारहरु