रेशम सापकोटा / सेतो नेपाल
माडी, (चितवन),१२ असार | चितवन उद्योग वाणिज्य संघका पूर्व उपाध्यक्ष तथा युवा व्यवसायी सिरीस पन्त हाल अमेरिका भ्रमणमा छन्। यो भ्रमण चितवनको पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने ऐतिहासिक अवसर बनेको छ, जहाँ उनले अमेरिका र नेपालको शहरबीच मित्रता, व्यापार र पर्यटन प्रवर्द्धनको विषयमा प्रभावशाली पहल गरेका छन्।
न्यूयोर्क राज्यको कोर्निङ सहरमा पुगेका पन्तले त्यहाँका मेयर विलियम ‘बिल’ बोल्यान्डसँग उच्चस्तरीय भेटघाट गर्दै भरतपुर महानगरपालिका र कोर्निङ सहरबीच “Sister City” (भगिनी सम्बन्ध) स्थापनाको प्रस्ताव अघि सारेका छन्। यस पहलले नेपाल–अमेरिका सम्बन्धलाई स्थानीय तहबाट सशक्त बनाउने विश्वास गरिएको छ।
उक्त भेटमा श्रीमती प्रियंका घिमिरे पन्तको साथमा रहेका पन्तले चितवन पर्यटन पुस्तिका र भरतपुर महानगर प्रमुख रेनु दाहालद्वारा पठाइएको शुभकामना पत्र मेयर बोल्यान्डलाई हस्तान्तरण गरे। सांस्कृतिक आत्मीयता प्रकट गर्दै उनले मेयरलाई नेपाली ढाका टोपी उपहार दिँदै सम्मान अर्पण गरेका थिए।
मेयर बोल्यान्डले चितवनसँग भगिनी सम्बन्ध स्थापनामा चासो व्यक्त गर्दै भने, “कोर्निङ सहरले जापान, इटली र युक्रेनसँग यस्तै सम्बन्ध बनाएको छ, अब हामी नेपालसँग चौथो भगिनी सम्बन्धतर्फ अघि बढ्न चाहन्छौं।”
पन्तले यसअघि न्युयोर्कस्थित दुई पुराना बाणिज्य संघका अध्यक्षहरूसँग पनि भेटघाट गरी व्यापारिक साझेदारी, सीप आदान–प्रदान, र संस्थागत सहकार्य बारे छलफल गरिसकेका छन्। साथै, रोटरी क्लब अफ सेरे–एथेन्स सँग सहकार्यको पहल गर्दै चितवन रोटरी क्लबबीच अन्तर्राष्ट्रिय समन्वयको बाटो खोल्ने प्रयास गरेका छन्।
उक्त भ्रमणका कार्यक्रम व्यवस्थापन र समन्वयमा पाचन तथा कलेजो रोग विशेषज्ञ डा. सुभाष घिमिरे (Gastroenterologist) ले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए। अमेरिका निवासी डा. घिमिरे सिरीस पन्तका नातेदार हुन्।
सिरीस पन्तको भ्रमण केवल व्यक्तिगत यात्रा थिएन — यो चितवनको आवाज, नेपाली संस्कार र सहकार्यको सम्भावना लिएर विश्व मञ्चमा उभिएको कूटनीतिक सन्देश थियो। उनले देखाएको नेतृत्व, दूरदृष्टि र सकारात्मक सोचले नेपालको सम्मान मात्र बढाएको छैन, भविष्यका सम्बन्धहरूका लागि आधार समेत तयार गरेको छ।
चितवनको माटोबाट सुरु भएको यो यात्राले अब थप अन्तर्राष्ट्रिय सम्बन्धको बिकास निर्माण गर्न सक्ने सम्भावनाको ढोका खोलेको छ। युवाले उठाएको यस्तो दूरदृष्टियुक्त कदम सम्पूर्ण देशका लागि प्रेरणाको स्रोत बन्न सक्छ।


