चितवन, ८ असार । मुग्लिन–मलेखु सडकखण्डअन्तर्गत चारवटा पुलमा आरसिसी बिम (गर्डर) राख्ने काम आज बिहान सम्पन्न भएको छ। यससँगै अबदेखि रातको समयमा सडक आवागमन बन्द नहुने भएको हो।
नागढुङ्गा–मुग्लिन सडक आयोजना, पश्चिम खण्ड अन्तर्गतको यो कार्य बरबाङ, मोवा, खटौती र गोमती खोलाको पुलमा सम्पन्न भएको हो। आयोजनाका प्रमुख केदारप्रसाद नेपालका अनुसार तीमध्ये दुईवटा पुलको ढलान काम असार मसान्तभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
भारतबाट झिकिएको विशेष क्रेनमार्फत बिम राखिने भएकाले जेठ ३० गतेदेखि असार ७ गतेसम्म रातिको १० बजेदेखि बिहान ३ बजेसम्म सडक बन्द गरेर काम गरिएको थियो।
यसबीच, आज र भोलि राति भने नौबिसे–मलेखु सडकखण्डको गलौदी खोला पुलमा गर्डर राख्ने काम भइरहेकाले सो खण्डमा सवारी साधनको आवागमन रोकिने आयोजनाले जनाएको छ। सूचना अनुसार आज (असार ८) र भोलि (असार ९) राति १० बजेदेखि बिहान ३ बजेसम्म गलौदी पुल क्षेत्रमा ट्राफिक पूर्ण रूपमा रोकिनेछ। –00–


