चितवन, ५ असार । चितवनको कालिका नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि रु ९५ करोड ७ लाख २० हजारको बजेट सार्वजनिक गरेको छ। बुधबार सम्पन्न सातौँ नगर सभामा उपप्रमुख विमला तामाङले संघीय र प्रदेश सरकारबाट प्राप्त अनुदान तथा रु सात करोड आन्तरिक आम्दानीको अनुमानमा आधारित रहेर बजेट प्रस्तुत गर्नुभएको हो।
बजेटमा कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासलाई मुख्य प्राथमिकता दिइएको छ। नगरप्रमुख विनोद रेग्मीका अनुसार कृषि व्यवसाय दर्ता तथा नवीकरण शुल्क घटाएर अब केवल रु १०० कायम गरिएको छ, जुन यसअघि रु १,००० देखि रु ५,००० सम्म थियो।
कालिका नगरपालिकाभित्र मह, केरा, च्याउ, कोदो, फापर, अदुवा, हलेदो र पिँडालुजस्ता उत्पादनहरू व्यावसायिक रूपमा विस्तार हुँदै गएका छन्। ती उत्पादनलाई प्रवद्र्धन गर्न नगरपालिकाले सिँचाइ, यान्त्रिकीकरण र बजारीकरणमा लगानी बढाउने योजना बनाएको छ। “रासायनिक विषादीको सट्टा प्राङ्गारिक मल र जैविक विषादीलाई प्राथमिकता दिइनेछ,” रेग्मीले बताउनुभयो, “व्यावसायिक खेतीलाई सघाउन यन्त्र उपकरण खरिद, प्राविधिक सहयोग, गुणस्तरीय बीउ तथा भण्डारणमा सहयोग गरिनेछ।”
सामूहिक खेती र रोजगारी सिर्जनाका लागि प्राङ्गारिक मल, झोल मल र कम्पोस्ट मल प्रयोग गर्ने किसानलाई विशेष अनुदान प्रदान गरिने बताइएको छ।
कालिकाको वडा नं. १० र ११ मा बसोबास गर्ने चेपाङ समुदायको उत्थानका लागि चिउरी तथा चमेरो संरक्षण कार्यक्रम पनि बजेटमा समावेश गरिएको छ। उपप्रमुख तामाङका अनुसार विपन्न परिवारलाई लक्षित गरी आगामी वर्ष पनि निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम निरन्तरता दिइनेछ। चालु वर्षमा ९१० परिवारका ३,३८३ जनाको बीमा गरिँदा रु ३० लाख ९५ हजार खर्च भएको थियो।
कालिका नगर अस्पतालमा दन्त सेवा थप गरिने र इन्डोर सेवा (बिरामी भर्ना गरेर उपचार) सुरु गरिने योजना पनि बजेटमा उल्लेख गरिएको छ। नगर प्रवक्ता लक्ष्मण पौडेलले ‘मेयर केयर’ र ‘उपमेयरसँग बालबालिका’ कार्यक्रममार्फत सम्पूर्ण बालबालिकालाई विद्यालयमै पुग्ने वातावरण तयार गरिने जानकारी दिनुभयो।
गत वर्ष नगरपालिकाले रु ९२ करोड ९७ लाख ७४ हजारको बजेट ल्याएको थियो। यस वर्ष भने नगरपालिकाले आर्थिक पारदर्शिता अभिवृद्धि गर्दै बेरुजु शून्यमा झार्ने लक्ष्य लिएको जनाएको छ।—00—


