– सन्तकुमार चौधरी
- सपना बोकेको ह्वीलचियर — एनोशको जीवन बदल्ने आमाबुबाको संघर्ष
चितवन, १४ जेठ । भरतपुर महानगरपालिका–२८, योगीटोल । बाहिरबाट हेर्दा एउटा पुरानो कुखुराको खोरको लागि बनाइएको लामो टहरा देखिन्छ । तारजाली बेरिएको खोरको बाहिर एउटा ढोका छ । ढोका खोलेपछि तीनवटा कोठा लहरै छन् । त्यही तीनमध्ये एउटा कोठालाई बासस्थान बनाइरहेका छन् सर्मिला कुमाल र उनका श्रीमान् शिव कुमाल ।
उनीहरूका तीन सन्तान छन् । दुई छोरी र एक छोरा कुमाल दम्पतीका सन्तान हुन् । तिमध्ये माइलो छोरा ८ वर्षका एनोश हुन् । परिवारमा एनोश विशेष छन् । किनकी, उनी बहुअपाङ्गता भएका बालक हुन्, जसको जीवन ह्वीलचियरमा सीमित छ । पर्साढाप हेल्थपोष्टमा जन्मिएका एनोशको जन्मका क्षणहरू भने सामान्य थिएनन् ।
उनको घाँटीमा नाल बेरिएको थियो । जन्मपछि आउने च्याहा ! आवाज निकालेनन् । कुमाल दम्पतीलाई लाग्यो नाल बेरिएकोले छोराको रुवाइ भएन । तर, कुमाल दम्पतीले जन्मदै नसुनेको छोराको आवाज ८ वर्षसम्म पनि नआउला भन्ने कहिल्यै सोचेका थिएनन् ।

दश महिना पुग्दा मात्रै अभिभावकलाई थाहा भयो—एनोशले टाउको धान्न सक्दैनन् । हातखुट्टा लुला छन् । त्यसपछि बल्ल सुरु भयो अस्पताल दौडधूप । विपन्न परिवारका उनीहरुले आफ्नो आर्थिक हैसियतले भ्याएसम्म अस्पतालको ढोका चहारे । भरतपुरको मनकामना हस्पिटलदेखि काठमाडौँको धापाखेलसम्म छोरा सामान्य अवस्थामा ल्याउने विश्वास विस्तारै कमजोर हुँदै गयो ।
अस्पताल धाउँदा धाउँदै उनीहरुले थाहा पाए, एनोशलाई मस्तिष्क पक्षघात भएको रहेछ । चिकित्सकको सल्लाह अनुसार उनीहरुले एनोशलाई हिँडाउने अभ्यास गराउन थाले । डाक्टरले फिजियोथेरापी सुरु गरे ।
अभिभावकले घरमै गेडागुडी खेलाउने, खान सिकाउने प्रयास गर्न थाले । एनोशको लागि ‘डे केयर’ खोजी भयो । ज्योतीनगरमा भएको डे केयरमा नियमित लैजान थालियो । सर्मिला बिहान ९ बजे एनोशलाई घरबाट लिएर हिँड्थिन् । साढे १० बजे डे केयरमा पुर्याउँथिन् । अनि, दिउँसो ३ बजे घर फर्किने । नियमित रुटिन बन्यो उनको ।
एनोश सुरुमा न त आमा दुध चुस्न सक्थे, न त भात दाल खान नै । तर, अहिले अवस्था फेरिएको छ । ‘अब त जे दिए पनि चपाएर खान सक्छ तर अझै आफै खानसक्ने भने भएको छैन, आमाले भावुक स्वरमा भनिन् । अटिजम केयर चितवन सोसाइटीले सञ्चालन गरेको समावेशी शिक्षा परियोजना अन्तर्गत एनोशको घरमै पुगेर उपचारको कार्यक्रम सुरु भएपछि एनोशको सञ्चार शैली फेरिएको हो ।
घुम्ती शिक्षक र थेरापिस्टले घरमै तालिकाबद्ध अभ्यास गराउन थालेपछि उनको शारीरिक रुपमा परिवर्तन आएको हो । दैनिक फिजियोथेरापी, खेलकुद, र शारीरिक अभ्यासको परिणामस्वरूप अहिले एनोश टाउको धान्न सक्ने भएका छन् । ‘अब खुट्टा धान्न सक्ने भए भने संसारकै खुसी पाउँथ्यौं’ आमा सर्मिलाले भनिन् ।
भरतपुर महानगरपालिकाको महिला विकास शाखाले एनोशको कठिनाइको आधारमा उनलाई अति अशक्त अर्थात् रातो रङ्गको अपाङ्गता परिचय पत्र दिएको छ । तर, उनी बस्ने घर नै पहुँचयुक्त बनाउन सकेका छैनन् उनका बुबाआमाले । खुट्टा टेक्न नसक्ने एनोशको ह्वीलचियर बोकेर नै घरभित्र बाहिर गराउनुपर्छ । शौचालयको सिढी त उनले चढ्न सक्ने कुरै भएन । आमा सर्मिलाले बोकेर दिसा पिसाब गर्न लैजाने बताइन् ।

एनोश उभिन सक्दैनन्, उमेर बढेसँगै खुट्टा बांगिदै गइरहेको छ । कहिलेकाहीँ बुबाआमाले घरको पिल्लरमा बाँधेर उभ्याउन खोज्छन् । एकपटक त टाउको पिल्लरमा ठोकियो । अरु उपाय नभएपछि बुबा आमा अब आफ्नै खुट्टामा छोरोको खुट्टा बाँधेर उभ्याउने अभ्यास गर्छन् । कुमाल दम्पती भन्छन्, — छोरालाई उभिन अड्याउन मात्रै मिल्ने स्ट्याण्ड भएपनि खुट्टा राम्रो हुने थियो कि ! आफू काममा जाँदा ह्वीलचियरमा मात्रै बसिरहने छोरालाई झ्याउन नलागोस् भनेर कहिलेकाही उनीहरु मोबाइलमा कार्टुन लगाइदिन्छन् ।
कार्टुन हेर्दै दिन बिताउने एनोशलाई हेर्दा लाग्छ— जीवन कठिन छ । आफ्नाको साथ, सहारा र समर्पण छ भने परिवर्तन सम्भव पनि छ ।

स्वरोजगारको बाटोमा एनोशका बाबा –
एनोशका बुबा शिव कुमाल पहिला मलेसियामा कुक थिए । हातमा पकाउने सीप थियो । तर, घरमा आर्थिक कमजोरीको चपेटामा थियो । हातमा सिप भएपनि उपयोग गर्न लगानी गर्ने आर्थिक अवस्था थिएन । एनोशजस्तो अपाङ्गता भएका छोराको पालनपोषण, उपचार र शिक्षासँगै जीवन धान्न गाह्रो थियो ।
अहिले भने शिव स्वरोजगारको यात्रामा लागेका छन् । जसको माध्यम बनेको छ, ठेला ।
अटिजम केयर चितवन सोसाइटीले सञ्चालन गरेको समावेशी शिक्षा परियोजनाअन्तर्गत शिवलाई ठेला व्यवसाय सुरु गर्न आर्थिक सहयोग मिल्यो । ५० हजार ८ सय रुपैयाँको प्रारम्भिक सहयोगमा एनोशको परिवारकै डिजाईनमा ठेला तयार भयो । ठेलासँगै मःम बनाउने भाँडाकुडा, चम्चा प्लेट, ग्याँस चुलो, सिलिण्डर समेत संस्थाले उपलव्ध गराइदियो ।

२०८१ साल पौष १ गतेदेखि ठेला व्यवसाय सुरु गरेका शिव बिहान मःम, पकौडा, जेरी बनाउने काममा व्यस्त हुन्छन् । दिउँसो १ बजेदेखि ठेला डुलाउन गाउँ निस्कन्छन् । शनिबार गाउँको पञ्जाना चोकमा हाटबजार लाग्छ । हाटबजारमा पनि उनी ठेला लैजान्छन् ।
उनका अनुसार दैनिक २ हजार ५ सयभन्दा बढी आम्दानी हुन्छ । दुई हजार पाँच सयमा खर्च कटाएर हजार रुपियाँदेखि १ हजार ५ सयजति नाफा हुन्छ । अरुको अँधिया खेतीपाती गर्ने एनोशको परिवार घरमा फ्रिज किन्न सक्ने आर्थिक अवस्थामा पनि छैनन् ।
त्यसैले ठेला व्यवसाय सुरु गरेपछि आवश्यकताका आधारमा फ्रिज लगायत अन्य थप सामग्री किन्नका लागि ३३ हजार रुपैयाँ परियोजना मार्फत थप सहयोग प्राप्त भएको शिवले बताए ।
किसानबाट शिव ठेला व्यवसायी बनेका छन् ।
बिहानभर दिनभर पसलमा चाहिने खानेकुराहरुको व्यवस्थापन गर्छन् । घरमा छोराछोरीलाई मिठो खुवाउन समस्या छैन अहिले उनलाई । आफ्नै श्रम र संस्थाको साथले घर चलिरहेको छ । दुईपैसा कमाउने मेसो पाएका छन् । विस्तारै उनी स्वरोजगार बन्दै गएका छन् । तर, स्थानीय सरकार वा जनप्रतिनिधि भने उनको परिवारको अवस्था प्रति बेखबर छन् । जेनतेन गुजारा चलिरहेकै छ । ‘जनप्रतिनिधिबाट आशैपनि छैन’ — शिवले दुखेसो पोखे ।
दृष्टि गुमाउँदै गएकी छोरी सृष्टिको उपचारका लागि सहयोग खोज्दै एकल आमा-
भरतपुर महानगरपालिका–२४ मा बस्दै आएकी ३६ वर्षीया तुलसी राउतको जीवन नेपाली समाजमा एकल महिला कुन अवस्थाबाट बाँचिरहेका हुन्छन् भन्ने यथार्थउदाहरण हो । एक दशकअघिसम्म उनले कहिल्यै सोचेकी थिइनन् कि कुनै दिन एक्लो काँधमा गर्दै तीनजना छोराछोरीको भविष्य बोक्नुपर्नेछ ।
पाँच वर्षअघि श्रीमान हेमसागर राउतले आफै मृत्युको बाटो रोजेपछि उनी पूर्णतः एक्लिइन् । उनीसँग तीन सन्तान छन् । जसमध्ये कान्छी छोरी सृष्टी राउत कक्षा पाँचमा पढ्दैछिन् । तर, उनलाई हेर्नमा कठिनाइ छ ।
सृष्टी उज्यालोमा हेर्न सक्दिनन् । आँखा बिझाइरहन्छ । विस्तारै आँखाको नानी अण्डाकार हुँदै गएको छ । डाक्टरले सृष्टिको आँखामा कर्निया रोग पहिचान गरिसकेका छन् । जसमा आँखाको नानी पातलो हुँदै जाने । उज्यालोमा हेर्न नमिल्ने । विस्तारै अण्डाकारको हुँदै गएर नानी नै फुट्नसक्ने चेतावनी पनि डाक्टरले दिइसकेका छन् । तीन वर्षयता यो समस्या बल्झिँदै गएको छ । अझ बढ्दै गएको छ ।

सृष्टि भने पढाइमा अति रुची राख्छिन् । चित्र कोर्न मन पराउँछिन् । नाच्छिन् । घर मात्रै होइन विद्यालयमा पनि सबैको प्यारो छिन् । तर, उनको बाल अनुहारमा पटक पटक भविष्यको अन्धकार सृष्टिको दृष्य देखिन्छ । कहालिन्छिन् सृष्टि । आमाको काखमा गुडुल्किएर रुँदै सोध्छन् — आमा मेरो उपचार कहिले हुन्छ ।
काखकी छोरी हेरेर नाजावफ हुनुको विकल्प छैन आमा तुलसीसँग । डाक्टरले भने अनुसार उपचार गराउन सक्ने उनको आर्थिक हैसियत छैन । बसेको घर पनि अैलानी हो । न उनी जमिन नै बैँकमा राखेर ऋण निकालेर उपचार गर्ने अवस्थामा छिन्, न छोरीलाई जवाफ दिन सक्छिन् ।
आमा तुलसी भन्छिन्, — “एक आँखाको मात्र अपरेसन गरेको डाक्टरको फिस ६० हजार रुपैयाँ लाग्छ रे । त्यो पनि आँखाको नानी छुट्टै किन्नुपर्छ भनेका छन् । घर चलाउन ठिक्क हुने कमाउँछु । ऋण कसैले पत्याउँदैन । हामीसँग त जग्गा जमिनपनि केही छैन । कसरी उपचार गर्छु भनुँ छोरीलाई !
सृष्टी मात्र होइन, उनका दाजुहरुमा पनि आँखाको त्यही कठिनाइ देखिँदै जान थालेको छ । ठूलो छोरा कक्षा ११ मा पढ्छ । उसलाई चस्मा अनिवार्य भएको छ । कान्छो छोरा कक्षा ७ मा पढ्छ । उसले पनि दिनभर आँखा मिच्दै उपचारमा लैजानुस् भन्ने गरेको उनले बताइन् ।
चितवनको भरतपुर आँखा अस्पताल हुँदै सृष्टिलाई काठमाडौँको तिलगंगा आँखा अस्पतालमा समेत लगिसकेकी छन् । छोरीको उपचारको लागि जाँदा शल्यक्रिया गरिहालौँ भन्छन् डाक्टर पनि । तर, आफूले हस् भन्ने अवस्था नै नरहेको उनले बताइन् ।
उनका जेठा छोरा कक्षा ११ र कान्छोे छोरा कक्षा ७ मा पढ्दैछन् । दुबैको आँखामा पनि कठिनाई देखिन थालेको छ । सबैका समस्या एउटै प्रकारको छ । आँखा चिलाउने दुख्ने र विस्तारै दृष्टि कमजोर हुँदै जाने । बिहान उठ्नेबित्तिकै सानो छोरा भन्छ – ‘अस्पताल लैजानु न ममी, म भन्छु – ‘पैसा भएपछि लैजान्छु,।’ तुलसी भक्कानिँदै सुनाउँछिन् ।
उनको अनुहारमा गहिरो चिन्ता छ – सन्तानका आँखा बचाउने कि पेट पाल्ने !
गुजार चलाउन सिलाइकटाइ –
तुलसीकी कान्छी छोरी सृष्टि राष्ट्रिय आधारभूत विद्यालय, प्रगतिचोकमा कक्षा पाँचमा अध्ययनरत छिन् । कक्षा ३ मा पढ्दा विद्यालयमा भएको प्रारम्भिक पहिचान स्वास्थ्य शिविरमा सृष्टिको आँखाको कठिनाइ पहिचान भयो । त्यो शिविरको सञ्चालन अटिजम केयर चितवन सोसाइटीमार्फत भएको थियो ।
सोसाइटीले समावेशी शिक्षा परियोजना कार्यक्रम मार्फत विद्यालय र समुदायमा अपाङ्गता भएका बालबालिकालाई सेवा दिँदै आएको छ । सोही अभियानमा सृष्टिको आँखाको कठिनाइ मार्फत आमा तुलसीसम्म पुग्ने माध्यम बनायो सोसाइटीले ।
एकल महिला तुलसीलाई त्यो समय घर भेटिन निकै गाह्रो थियो । तीन सन्तान हुर्काउन उनी दैनिक ज्यालादारीमा जान्थिन् । दैनिक कमाइबाट घर धान्दै आएकी थिइन् । तुलसीको परिवारको अवस्था थाहा भएपछि सोसाइटीले उनलाई आत्मनिर्भर बनाउन बल दियो । जसका लागि तीन महिनासम्म सिलाइ सिक्न सहयोग गर्यो ।
दुई महिना भरतपुर महानगरबाट दिएको आधारभूत सिलाइ कटाइ तालिम तुलसीले लिइसकेकी थिइन् । उनलाई सिलाइमा पोख्त बनाउन अझ सिकाएपछि सोसाइटीले व्यवासयसँग जोड्न आर्थिक सहयोग मार्फत मदत गरेको उनले बताइन् ।

जग्गा जमिन केही पनि नभएको, ऐलानी बस्तीमा जीवन गुजारिरहेकी तुलसी राउतको कमाइको आधार त्यतिबेला बदलियो, जब छोरी सृष्टिको स्वास्थ्य समस्या अटिजम केयर चितवन सोसाइटीसम्म पुग्यो । संस्थाले सञ्चालन गर्दै आएको समावेशी शिक्षा परियोजना अन्तर्गत तुलसीलाई आत्मनिर्भर बनाउन आर्थिक र प्राविधिक सहयोग दियो ।
संस्थाले दिएको ७५ हजार रुपैयाँको प्रारम्भिक सहयोगमा तुलसीले लुगा सिलाउने मेसिन, केहीथान कपडा, आइरन, धागो, कस्मेटिक सामग्री पाइन् । उनले आफ्नै घरको एक कुनामा छोरी सृष्टिको नामबाट टेलर व्यवसाय सुरु गरेकी छन्, — सृष्टि लेडिज टेलर ।

व्यवसाय सुरु गरेपछि संस्थाले उनलाई थप सामग्री खरिदगर्नका लागि सहयोगस्वरूप थप ३० हजार रुपैयाँको आर्थिक सहयोग पनि दिएको छ । अब भने तुलसीको दैनिकी फेरिएको छ । हिजोआज उनी अरुकोमा ज्याला मजदुरी गर्न जानु पर्दैन । आफ्नै घरमा सिलाइको कामले उनको व्यस्तता बढेको छ । ग्राहकहरूको चाप पनि बढ्दो छ । उनले दैनिक १हजार ५ सयदेखि देखि २ हजार रुपैयाँसम्म आम्दानी गर्न थालेको बताइन् ।
भरतपुर महानगर वडा नं. २४ ले सुरुमा सीपमुलक कार्यक्रम अन्तर्गत २ महिने सिलाइकटाई तालिम दिएको थियो । उक्त तालिममा आधारभूत ज्ञान लिएकी थिइन् । तालिमकै बीचमा टिकटकमा साथी बनेका एकजना दाईले उनलाई कपडा सिलाउने मेसिन उपहार दिए । तालिम सकिएसँगै तालिममा सहभागीहरुको समूहले प्रयोगगर्नेगरी भरतपुर महानगरले इन्टरलक मेसिन दिएको छ ।
समूहका अरु सिलाइको काम गर्दैनन् । त्यसैले उक्त मेसिन पनि तुलसीले चलाउन पाएकी छन् ।

तुलसीको सीपलाई व्यवसायिकता दिन पछि समावेशी शिक्षा परियोजनाले पनि थप कपडा सिलाउने मेसिन दियो । मेसिनसँगै आइरन, सियो, धागो लगायतका सामग्री दिएको थियो । पछि फेरि संस्थाले शुक्रनगरमा आयोजना गरेको तालिम ३ महिने तालिममा सहभागीहुने अवसर दियो ।
अहिले लेडिजहरुले लगाउने सबैखालका कपडा सिलाउन सक्ने भएको छु – उनले भनिन । सधैं चिन्तामा डुबिरहने, सन्तानका आँखाबाट आँसु पुछिरहने तुलसीको अनुहारमा अहिले केही उज्यालो देखिन्छ—त्यही उज्यालो जसको खोजी उनी छोरी सृष्टिका आँखामा गरिरहेकी छिन् ।
पढाईमा अब्बल सृष्टी, कहिले फर्किएला आँखाको उज्यालो ?
सृष्टि श्री राष्ट्रिय आधारभूत विद्यालय, प्रगतिचोकमा कक्षा पाँचमा पढ्छिन् । उनी विद्यालयको प्रतिभाशाली विद्यार्थीमा गनिन्छिन् । कक्षा ३ सम्म सँधै पहिलो हुन्थिन् सृष्टि । कक्षा ४ को परीक्षामा आँखाको समस्या बल्झियो । उत्तरपुस्तिकामा लेख्न नै नसक्ने भइन् । शिक्षकले उनलाई मौखिक परीक्षा लिए । तरपनि हिम्मत हारेकी छैनन् ति बालिकाले ।
पढाइलाई सँधै प्राथमिकतामा राख्ने सृष्टिलाई स्कुल र किताब असाध्यै मनपर्छ । ‘आँखा दुखेको बेला विदा दिन्छौं तर यिनी घरजान मान्दिनन्’, सृष्टिकी शिक्षक सृजना दवाडी जमरकट्टेलले भनिन् ।

सोही विद्यालयमा सृष्टिको विद्यालय शिक्षा सुरु भएको हो । विद्यालयका प्रधानाध्यापक धर्मराज सापकोटाका अनुसार पहिलो भर्नाको समय सृष्टि सामान्य बालबालिका जस्तै थिइन् । कोरोनाको महामारीपछि भएको स्वास्थ्य जाँचमा सृष्टिको कठिनाइबारे विद्यालयका शिक्षकहरुले थाहा पाएका हुन् ।
कक्षा बढेसँगै उनको आँखाको रुप परिवर्तन हुँदै गएको छ । विद्यालयको प्रधानाध्यपाक धर्मराज सापकोटाका अनुसार सृष्टिसँगै एक जना सुनाइ, एक जना अटिजम र २ जना कार्यगत सीमितता भएका बालबालिकाहरु विद्यालयमा अध्ययनरत छन् ।

विद्यालय मार्फत नै सृष्टिको परिवारसम्म परियोजना पुगेको अटिजम चितवन केयर सोसाइटीकी सामाजिक परिचालक सुनिता गौतमले जानकारी दिइन् । आमा तुलसीको संघर्ष देखेर परियोजनाले स्वरोजगारका लागि सहयोग गरेको उनले बताइन् ।
आत्मनिर्भर बनेर छोरीको उपचार र अध्ययनलाई निरन्तरता गर्न सकोस भन्ने हाम्रो चाहना अनुसार संस्थाले उनलाई सहयोग दिन पहिचान गरेको गौतमको भनाइ छ ।
३ वर्षदेखि आँखाको कठिनाइ झेलिरहेकी सृष्टिलाई गतवर्ष दसैँ अगाडी उपचारका लागि आमा तुलसीले तिलगंगा आँखा अस्पताल, काठमाडौँ पुर्याएकी थिइन् । चिकित्सकले उनलाई कर्निया भएको बताए । तत्काल आँखाको शल्यक्रिया गर्न सुझाए । तर तुलसीसँग ६० हजार समेत जुटाउने अवस्था छैन ।
कतिसम्म भने छोरीको उपचारका आमा तुलसीले आफ्नो सिलाई मेसिन स्थानीय एकजनालाई २० हजार रुपैयाँमा धेरौटी राखी ऋण लिएर काठमाण्डौं पुगेकी थिइन् । आँखाको दुखाइ कमगर्न लेन्स राख्न खोज्दा १ हजार रुपैयाँ पैसा पुगेन । छोरीलाई अंगालो हालेर अस्पतालमै रोइन् । एकजना चिनजानको दिदिले एक हजार रुपैयाँ दिएपछि छोरीको आँखामा लेन्स हालियो तर दुखाइ कम भएन ।

अस्पतालले भनेको थियो — शल्यक्रिया ढिला नगर्नू, नत्र नानी फुट्न सक्छ । आर्थिक अभावका कारण छोरीको उपचार पुरा नहुँदै तुलसी घर फर्किइन् । अझै २० हजार ऋण तिर्न बाँकी छ । सिलाइ मेसिन फिर्ता ल्याउन सकेकी छैनन् । आर्थिक अभावले छोरीको स्वास्थ्य उपचार कहिले गर्ने उनलाई नै थाहा छैन ।
ढोकाको खापा छेउ अँध्यारोको छेल पारेर पढिरहेकी छोरी देखेर कतिपटक भक्कानिएकी छन् तुलसी उनैलाई थाहा छैन ।
सृष्टिलाई भरतपुर महानगरपालिकाले निलो रङको अपाङ्गता परिचय पत्र दिएको छ । जसबाट माध्यमबाट चार महिनामा ६ हजार ३ सय रुपैयाँ भत्ता पाउँछिन्, उनी । त्यो रकम उपचारको लागि पर्याप्त छैन । अस्पतालले छुट दिनका लागि वडावाट सिफारिस माग्छ, तर शतप्रतिशत निःशुल्क भने हुँदैन ।
महेन्द्र र अनिता चौधरीको संघर्षबाट स्वरोजगारसम्मको यात्रा-
चितवनको भरतपुर महानगरपालिका–८, गौरीगञ्ज दुर्गा चोक । यही चोकमा बिहानदेखि साँझसम्म घुइँचो लाग्ने एक ठेला पसल छ । जहाँ पाइन्छन् चटपट, पानीपुरी, आलुचप, समोसा, पकौडा, ब्रेडचप र जलेबी जस्ता परिकार । सामान्य आँखाबाट देख्दा यो ठेलापसल मात्रै हो ।
तर, ठेलापसलको पृष्ठभूमी बुझ्नेका लागि, यो एक परिवारको संघर्षको कथा हो, जीवन बदल्ने एउटा मोड पनि हो ।

बारा जिल्लाको कोल्वी नगरपालिका–९, पडरीबाट सात वर्षअघि चितवन झरेका थिए महेन्द्र चौधरी र अनिता चौधरी । जसका साथमा तीन सन्तान, दुई छोरी र एक छोरा । जीवन बदल्ने ठूलो सपना बोकेर तीन सन्तानसहित चितवन झरेका यी दम्पतीलाई चितवन झरेपछि सुख भने भएन ।
विभिन्न निर्माण क्षेत्रमा अनौपचारिक मजदुरको रूपमा काम गर्न थाले महेन्द्र । जसको दैनिक कमाइ ७ सय रुपैयाँ हुन्थ्यो । अनिता गाउँघरमा सुत्केरी स्याहारदेखि लुगा धुने काम खोज्न थालिन् । जसबाट मुस्किलले १०–१५ हजार कमाइ हुन्थ्यो । उनीहरुको सपना छोराछोरीलाई राम्रो पढाउने थियो ।
अझ उनीहरुको राम्रो भविष्यको सपना छोरासँग जोडिएको थियो । चितवन आएको केही समयमा नै छोरा पिताम्बरलाई खुट्टामा चोट लाग्योे । चोट ठूलो थिएन । समयमा उपचार भएको भए समयमा नै सामान्य बन्न सक्थे उनी । तर, अभाव, चेतनाको कमीका कारण ७ वर्षसम्म अपाङ्गताको जीवन गुजारे बालक पिताम्बरले ।

पढाइमा राम्रो, हँसिलो स्वभावका पिताम्बर चौधरीलाई नजिकको खोलामा पौडी खेल्ने क्रममा सिसाले खुट्टाको नसा काटिदियो । तत्कालै अस्पताल लैजाने चेत उनीहरुमा आएन । पुरा पैतलाले नटेकी कुर्कुच्चा उचालेर हिँड्न थाले पिताम्बर । त्यतैगरी हिँड्दा हिँड्दै उनको नसा खुम्चिँदै गएछ । घाउ सञ्चो भएपनि खुट्टा सिधा भएन ।
पिताम्बर गौरीगञ्ज माध्यामिक विद्यालयमा पढ्छन् । सोही विद्यालयमा अटिजम केयर चितवन सोसाइटीका प्रतिनिधि पुग्दा थाहा भयो । उनीहरुकै सुझावमा एक खुट्टा खोच्याउँदै हिंड्न बाध्य भएका पिताम्बरलाई काभ्रेस्थित अपाङ्ग बाल अस्पताल तथा पुनस्र्थापना केन्द्रमा लगे चौधरी दम्पतीले । ‘उपचारमा एक लाख रुपैयाँभन्दा बढी खर्च भयो, ऋण काढेर उपचार गर्यौं’ — आमा अनिता चौधरीले भनिन् । गोडाको नशा काटिएको र खुम्चिएको थियो ।
शल्यक्रियापछि पिताम्बरको स्वास्थ्य सुधार भएको छ । पैताला पुरा टेकेर हिँड्न थालेका छन् । पहिले लाज मानेर कोठाभित्रै बस्ने उनले अब विद्यालय जान थालेका छन् । उनमा आत्मविश्वास बढेको छ ।
पिताम्बर अहिले कक्षा ७ मा अध्ययनरत छन् । आमा भन्छिन्, ‘पहिले लाज मानेर बाहिर निस्किन पनि डराउँथ्यो, अहिले खुशी छ । घरबाहिर निस्किन्छ । साथीभाइसँग हिँडुछ, खेल्छ ।’
ठेला व्यवसायः स्वाद र सफलताको कथा –
चौधरी परिवारको दैनिक ज्यालादारीबाट उपचार, शिक्षादेखि आवाससम्मको लडाइँमा आम नेपाली भूँइमान्छेले भोग्दै आएका कथा छ । जसको हरेक पाइला ऋण र मिहिनेतको भरमा अडिएको छ । बारा जिल्लाको कोल्वी नगरपालिका वडा नं ९ पडरीबाट चितवन झरेका महेन्द्र चौधरी र अनिता चौधरी पहिले अरूकै मजदुरी गरेर गुजारा चलाउँथे ।
महेन्द्र भवन निर्माणमा मजदुरी गर्थे । अनिता घर–घरमा सुत्केरी स्याहार, लुगा धुने काम गरेर महिनामा १०–१५ हजार कमाउँथिन् । उनीहरुको जीवनले नयाँ मोड लिएको छ । अनिता भन्छिन्, २०८१ पौष १० गतेदेखि आफ्नो गर्न थाल्यौँ । ‘अब अरूकैमा काम गर्नुपर्ने छैन, – ‘हामी आफै मालिक भएका छौं ।’
अहिले महेन्द्र र अनिता दुबैजना विहानदेखि साँझसम्म ठेलापसलमै व्यस्त हुन्छन् । सामान्यतया चटपट, पानीपुरी लगायतका खाजा खान नजिकको चोक असापासका मानिसहरु पुग्ने गर्छन् । तर, उनीहरुको खाजा पसलमा १० किलोमिटरसम्म टाढाबाट खाजा खानकै लागि भनेर मानिसहरु पुग्ने गर्छन् ।
अहिले त घर लगेर खाने खाजा खोज्ने ग्राहकहरू बढ्दै गएका छन् । फलामका काम गर्ने कामदार, कवाडी संकलन गर्ने डुलुवादेखि ठेकेदारहरूसम्म उनीहरूका नियमित ग्राहक हुन् ।

‘दिनकै ५० जनाभन्दा बढीले हाम्रो खाजा लैजानुहुन्छ’, महेन्द्र चौधरीले भने । दैनिक २ हजार ५ सय देखि ३ हजार रुपैयाँ आम्दानी गर्दै आएका छन् । ठेला पसलबाट मासिक कम्तिमा पनि २५ देखि ३० हजार रुपैयाँसम्म आम्दानी हुने उनीहरुले बताए ।
सुरुमा अटिजम केयर चितवन सोसाईटीले समावेशी शिक्षा परियोजना मार्फत खाजाका परिकार बनाउने तालिम पनि दिएको थियो । बैँकमा खाता समेत नभएका चौधरी दम्पतीलाई व्यवसाय सुरु भएपछि बैंकमा खाता खोल्नेदेखि नियमित बचत गर्नेसम्मको अभ्यास संस्थाले सिकायो ।
छोरा पिताम्बर चौधरीको उपचारका लागि लिएको ऋण पनि उनीहरूले यही ठेलापसलबाट कमाएर तिरिसकेका छन् । अहिले कमाएकै पैसाले मिक्सर, फ्रिज जस्ता व्यवसायका लागि आवश्यक सरसामान पनि किनेका छन् । व्यवसायबाट आएको आम्दानी नियमित रूपमा बैंक खातामा जम्मा गर्दै गएका छन् । ‘कहिले महिनाको ८ हजार त कहिले १० हजार बचत गर्दै आएका छौं’ – अनिता सुनाइन्।
भोलिको सपनाः चितवनमै स्थायी बसोबास –
चौधरी परिवारको जीवन बदल्न अटिजम केयर चितवन सोसाइटीले सञ्चालन गरेको समावेशी शिक्षा परियोजनाले मुख्य भूमिका खेलेको छ । उनीहरूलाई ४३ हजार ८ सय ८५ रुपैयाँको प्रारम्भिक लगानी र व्यवसाय सञ्चालनका सबै सामग्री – ठेला, ग्याँस, चुलो, भाँडाकुँडा, मसला, भुजा आदि दिइएको थियो ।

आफ्नै व्यवसाय र परिश्रमबाट यो जोडी चितवनमै थोरै जग्गा जोड्ने सपना देख्दैछ । उनीहरूको आत्मविश्वास बलियो छ – जसरी ठेला व्यवसायले साथ दिएको छ, त्यसरी नै अगाडि बढ्ने हो भने, त्यो समय टाढा छैन । चितवन जिल्लामा समावेशी शिक्षा परियोजनाले विभिन्न कमजोर र पछाडि पारिएका परिवारहरूलाई समेटेर जुन सकारात्मक परिवर्तन ल्याएको छ, ती कथाहरूले प्रमाणित गर्छन् कि सही समयमा प्राप्त सहारा, सीप र सम्भावनाको पहिचानले जीवनको दिशा बदल्न सक्छ ।
तुलसी राउत, महेन्द्र–अनिता चौधरी र शिबकुमारको परिवारले ठेला व्यवसाय सुरु गरेर ज्यालादारी जीवनबाट स्वरोजगारको बाटो समातेका छन् । संस्थाबाट प्राप्त प्रारम्भिक सहयोग, तालिम र आत्मबलको कारणले उनीहरूले मात्र पैसा कमाएका छैनन्, सम्भावना देखेका छन्, सपना बुनेका छन् ।
अटिजम केयर चितवन सोसाईटीले चितवनको भरतपुर महानगरपालिका र कालिका नगरपालिकामा समावेशी शिक्षा परियोजना संचालनगर्दै आएको छ । परियोजना संयोजक सुशील मगरका अनुसार अपाङ्गता भएका बालबालिकाहरुलाई शिक्षाको पहुँचमा ल्याउनका लागि परियोजनाले कामगर्दै आएको छ ।
उनीहरुका अभिभावकलाई आयआर्जनको पाटोमा अब्बल बनाउन विभिन्नखालका सीप मूलक तालिमदेखि आवश्यकताका आधारमा विभिन्न खालका व्यवसायका लागि सामग्री समेत परियोजना मार्फत सहयोग दिँदै आएको छ । भरतपुर र कालिकामा गरी सिलाई मेसिन, ठेला, घुम्ती पसल, पशुपालनतर्फ गाई, भैसी, बाख्रापालनगरी ५५ जनाले प्रत्यक्ष रुपमा लाभ लिइरहेका र उक्त व्यवसायका लागि ३५ लाख ५४ हजार ३ सय ४२ रुपैयाँ बराबरको आर्थिक सहयोग गरेको परियोजना संयोजक मगर बताउँछन् ।
..


