काठमाडौं , १४ जेठ । सत्ता गठबन्धनका शीर्ष नेताहरूको बुधबार बिहान बालुवाटारमा बसेको बैठकले गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने कुनै आवश्यकता नरहेको निष्कर्ष निकालेको छ।
प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, गृहमन्त्री लेखक तथा दुवै दलका प्रमुख सचेतकहरूको उपस्थितिमा भएको बैठकले लेखकले सदनमा नै जवाफ दिने र राजीनामा नदिने निर्णयमा पुगेको हो। स्रोतका अनुसार, प्रधानमन्त्री ओलीले स्वयं गृहमन्त्रीको राजीनामाको आवश्यकता नरहेको धारणा राखेका थिए। उता, विपक्षी दलहरू गृहमन्त्रीको राजीनामाको माग गर्दै आएका छन्। उनीहरूले मंगलबार संसद अवरुद्धसमेत गरेका थिए।
सत्ता गठबन्धनको यो निर्णयपछि संसदमा उत्पन्न गतिरोध अझ चर्किन सक्ने अनुमान गरिएको छ।–00–

