काठमाण्डौं, १४ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले विश्वभर रहेका अमेरिकी दूतावासहरूलाई विद्यार्थी भिसासम्बन्धी सबै आवेदन प्रक्रिया र अन्तर्वार्ता तत्कालत रोक्न निर्देशन दिएको छ।
अमेरिकी विदेश मन्त्री मार्को रुबिओले अर्को आदेश नभएसम्म कुनै नयाँ स्टुडेन्ट भिसा जारी नगर्न स्पष्ट निर्देशनसहितको मेमो सबै दूतावासहरूमा पठाएका हुन्। सीबीएस न्यूजका अनुसार, अमेरिकी प्रशासन अब विद्यार्थी भिसाका आवेदकहरूको सामाजिक सञ्जाल (सोसल मिडिया) को गहन अध्ययन गर्ने प्रक्रियामा समेत प्रवेश गर्दैछ।
हार्वर्ड विश्वविद्यालयमा विदेशी विद्यार्थीहरूलाई हटाउने तथा सरकारी अनुदान रोकिने निर्णयपछि अमेरिकी सरकारले विद्यार्थी भिसा नीतिमा व्यापक समीक्षा प्रक्रिया थालेको हो।
यस निर्णयसँगै अमेरिकी उच्च शिक्षामा अध्ययन गर्न चाहने विश्वभरका विद्यार्थीहरू अन्योलमा परेका छन्।

