फैसला पनि आजै आउन सक्ने सम्भावना

रास्वपाका सभापति रवि लामिछाने र पूर्वडीआईजी जोशीको मुद्दामा आज पनि सुनुवाइ

काठमाडौं, ९ जेठ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशीका निवेदनमा आज पनि सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ।

बहस नसकिएपछि बिहीबार ‘हेर्दाहेर्दै’मा राखिएको मुद्दामा आज शुक्रबार पुनः सुनुवाइ हुने तय भएको हो। न्यायाधीश डा. नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा मंगलबारदेखि सुरु भएको सुनुवाइ लगातार ‘हेर्दाहेर्दै’मा पर्दै आएको छ। मंगलबार लामिछानेका तर्फबाट १० जना वकिलले बहस गरेका थिए। अन्त्यमा वरिष्ठ अधिवक्ता रमन श्रेष्ठले बहस गरेका थिए तर बहस पूरा नभएपछि बिहीबार पुनः सुनुवाइ भएको हो। बुधबार संवैधानिक इजलास बस्ने भएकाले मुद्दाको सुनुवाइ हुन सकेको थिएन।

बिहीबार रवि लामिछानेका तर्फबाट बहस सकिएपछि सरकारी वकिलतर्फबाट चारजना कानुन व्यवसायीले पक्ष राखेका थिए। अब जाहेरवालातर्फ वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारी, दिनेश त्रिपाठीसहित तीनजनाले बहस गर्ने जानकारी इजलासमा दिइएको छ।

आज जाहेरवालाको बहस सकिएपछि लामिछानेका वकिलले जवाफी बहस गर्ने कानुन व्यवसायी डा. नारायण कँडेलले जानकारी दिएका छन्। उनका अनुसार बहस चिया समयअघि नै सकिने भएकाले फैसला पनि चाँडै आउने अपेक्षा गरिएको छ।

Share:

सम्बन्धित समाचारहरु