अब एक घण्टामै श्रम स्वीकृति, वैदेशिक रोजगार विभागको नयाँ प्रणाली तयारीको अन्तिम चरणमा

काठमाडौँ, ३ जेठ। वैदेशिक रोजगार विभागले आगामी तीनदेखि चार दिनभित्र श्रमिकहरूलाई एक घण्टाभित्रै श्रम स्वीकृति प्रदान गर्ने व्यवस्था लागू गर्ने तयारी गरेको छ।

बिहीबार आयोजित पत्रकार सम्मेलनमार्फत विभागले वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस) मा आवश्यक सुधार गरी सो सेवा सुरु गर्न लागिएको जानकारी दिएको हो। विभागका महानिर्देशक कमलप्रसाद भट्टराईले जानकारी दिनुहुँदै भन्नुभयो, “एक साताअघिसम्म श्रम स्वीकृति लिन आठदेखि १० दिन लाग्ने गरेको थियो। अहिले तीन दिनमा श्रम स्वीकृति दिइँदै आएको छ। अब तीन–चार दिनभित्र एक घण्टाभित्रै श्रम स्वीकृति दिने गरी तयारी गरेका छौं।”

वैदेशिक रोजगारीको प्रक्रिया प्रविधिमैत्री बनाउन ल्याइएको फेमिस प्रणालीमा समय–समयमा देखिने समस्याका कारण श्रमिकहरू प्रभावित हुँदै आएका थिए। तर प्रणालीमा सुधारपछि अब विश्वको जुनसुकै कुनाबाट श्रम स्वीकृतिका लागि आवेदन दिए पनि एक घण्टाभित्र स्वीकृति पाउने व्यवस्था मिलाइने विभागको दाबी छ।

पत्रकार सम्मेलनमा वैदेशिक रोजगारसँग सम्बन्धित संस्थागत उजुरी फस्र्याट, राहत तथा उद्धार, र क्षतिपूर्ति व्यवस्थापनका लागि समयानुकूल छुट्टै निर्देशिका तथा कार्यविधि निर्माण गरी लागू गरिने पनि जानकारी दिइएको छ।

महानिर्देशक भट्टराईले वैदेशिक रोजगारी क्षेत्रलाई सुरक्षित, व्यवस्थित, मर्यादित र समयानुकूल बनाउने उद्देश्यले विभागका उपमहानिर्देशकको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको र त्यसले आवश्यक अध्ययन कार्य अघि बढाएको जानकारी दिनुभयो। –00–

Share:

सम्बन्धित समाचारहरु