काठमाडौं, २ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी १४ महिनापछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गर्ने संकेत गर्नुभएको छ।
पूर्व योजनाकार मञ्च नेपालको औपचारिक शुभारम्भ कार्यक्रममा बिहीबार काठमाडौंमा बोल्दै प्रधानमन्त्री ओलीले आफूपछि देउवाले प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्ने व्यंग्यात्मक शैलीमा बताएका हुन्। “१४ महिनापछि शेरबहादुरजीलाई लौ प्रधानमन्त्री भनेर किस्तीमा राखेर धुमधामसँग हस्तान्तरण गर्छु,” प्रधानमन्त्री ओलीले भनाइमा हास्यरस मिसाउँदै भन्नुभयो।
प्रधानमन्त्री ओलीले कांग्रेस सभापति देउवालाई पटक–पटक प्रधानमन्त्री बन्ने अवसर जुर्ने बताउँदै भन्नुभयो, “अब फेरि जुर्नेवाला छ । के गर्नु ? ” उहाँले राजनीतिक नेतृत्वमा कतिपयले बारम्बार अवसर पाउने र केही योग्य व्यक्तिहरू चाहिँ अवसर नपाएरै बाहिर बस्नुपर्ने अवस्था रहेकोप्रति पनि टिप्पणी गर्नुभयो।


