भरतपुरमा साढे दुई करोड लागतमा खुला चिडियाखाना निर्माण सुरु, मेयर दाहालद्वारा शिलान्यास

चितवन, १  जेठ । भरतपुर महानगरपालिका–१२ स्थित गोन्द्राङमा राईनो पार्क तथा खुला चिडियाखाना निर्माण कार्यको शिलान्यास गरिएको छ। साढे दुई करोडभन्दा बढी लागतमा निर्माण हुने पार्कको शिलान्यास एक कार्यक्रमबीच भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले गर्नुभयो।

शिलान्यास समारोहमा मेयर दाहालले “एक वडा, एक पार्क” नीतिअन्तर्गत राजमार्गसँग जोडिएको स्थानमा पार्क निर्माणको थालनी गरिएको बताउँदै यसले शहरी सौन्दर्य, हरियाली र पर्यटन प्रवर्द्धनमा योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो।

बेलशहर सामुदायिक वन क्षेत्रभित्र पर्ने यो पार्क ८ विघा क्षेत्रफलमा निर्माण हुँदैछ। गौतम मोर्डन जेभी निर्माण कम्पनीले २०८२ कात्तिक ७ भित्र काम सम्पन्न गर्ने गरी करसहित २ करोड २३ लाख ८ हजार ६५४ रुपैयाँमा निर्माणको जिम्मेवारी लिएको हो।

वन्यजन्तु उद्धारदेखि म्युजियमसम्म

महानगरका सिनियर डिभिजनल इन्जिनियर सन्तोष आचार्यका अनुसार, पार्कभित्र वन्यजन्तु उद्धार भवन, गोही, सर्प, माछा र कछुवाका लागि छुट्टाछुट्टै पोखरी, प्रदर्शनका लागि म्युजियम, फुटपाथ, घेराबारसहितको खुला चिडियाखाना तथा विश्राम गर्न गोलघर जस्ता संरचनाहरू निर्माण हुनेछन्।

महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले पार्क निर्माणपछि आन्तरिक तथा बाह्य पर्यटकलाई छोटो समयमै घुम्न सकिने नयाँ गन्तव्य उपलब्ध हुने बताउँदै स्थानीय पर्यापर्यटन प्रवर्द्धनमा योगदान पुर्‍याउने धारणा राख्नुभयो।

त्यस्तै, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले ठेक्कामा उल्लेख गरिएका सबै पूर्वाधार समयमै सम्पन्न भएमा यो पार्क एक नमुना परियोजना बन्ने विश्वास व्यक्त गर्नुभयो।

राईनो पार्कको निर्माणले भरतपुर क्षेत्रको पर्यटकीय, शैक्षिक तथा प्राकृतिक विविधतालाई नयाँ उचाइमा पुर्‍याउने अपेक्षा गरिएको छ। संरचनात्मक विकाससँगै स्थानीय समुदायको आय आर्जन, शिक्षा, र प्रकृति संरक्षणमा समेत सकारात्मक प्रभाव पर्ने विश्वास गरिएको छ।

Share:

सम्बन्धित समाचारहरु