भारत–पाकिस्तान तनावपछि सुनसरीको सीमा क्षेत्रमा सुरक्षा कडाइ

धरान, २४ बैशाख । सेतो नेपाल —

भारत र पाकिस्तानबीच बढ्दो तनावको असर नेपाल–भारत सीमामा देखिन थालेको छ। सुनसरी जिल्लाको सीमा क्षेत्रमा बुधबारदेखि सुरक्षा कडाइ गरिएको छ।


सुनसरीको सप्तकोशीस्थित कोसी ब्यारेजदेखि अमडुवासम्म र भारतको बिहार अन्तर्गत सुपौल र अररिया जिल्ला हुँदै नेपाल प्रवेश गर्ने नाकाहरूमा दुवै देशका सुरक्षाकर्मीहरू हतियारसहित तैनाथ गरिएका छन्। सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रका अनुसार, सीमा क्षेत्रमा सुरक्षा मजबुत बनाइएको छ। उनले भने, “जो–कोहीले सुरक्षाकर्मीमाथि जबरजस्ती गरे गोली चलाउने अधिकार समेत दिइएको छ।”


सशस्त्र प्रहरी बल बराह बाहिनीका डीआईजी कुमार न्यौपानेले सीमा क्षेत्रमा स्थलगत निरीक्षण गरेका छन्। उनले भारत पक्षसँगको समन्वयमा आवश्यकता अनुसार सुरक्षा फौज परिचालन गरिएको जानकारी दिए। प्रमुख जिल्ला अधिकारी मिश्र, सुनसरीका प्रहरी प्रमुख सुमनकुमार तिम्सिना, सशस्त्र प्रहरी प्रमुख निर्मल थापा लगायतको टोलीले सीमा क्षेत्रको स्थलगत अनुगमन गरेको छ। टोलीले शंकास्पद स्थानहरूमा थप प्रहरी परिचालनसमेत गरेको जनाएको छ।


भारत–पाकिस्तानबीचको तनावले सीमा क्षेत्रमा अप्रत्याशित गतिविधि हुन सक्ने भन्दै नेपाली सुरक्षाकर्मीहरू उच्च सतर्क अवस्थामा छन्।–00–

सेतोनेपाल डटकमबाट थप अपडेट आउनेछ।

Share:

सम्बन्धित समाचारहरु