काठमाडौं, वैशाख । हाल देशका केही भागमा हल्का वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपात हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागका अनुसार हाल पश्चिमी वायु, स्थानीय वायु र बंगालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको प्रभावका कारण मौसममा बदली र वर्षाको सम्भावना देखिएको हो।
आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोसी प्रदेशसहित देशका पहाडी भूभागका थोरै स्थानमा तथा अन्य क्षेत्रका एक-दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षा हुन सक्ने विभागले जनाएको छ।
त्यस्तै, कोसी, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।
रातिको मौसमबारे विभागले कोसी, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रहरूमा आंशिकदेखि सामान्य बदली रहने र बाँकी भूभागमा मौसम मुख्यतः सफादेखि आंशिक बदली रहने जनाएको छ।
विशेष गरी कोसी र गण्डकी प्रदेशका पहाडी र हिमाली भूभागका एक-दुई स्थानमा मेघगर्जनसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको विभागको पूर्वानुमान छ।–00–


