काठमाडौं, १२ वैशाख । सरकारले निर्धारण गरेको न्यूनतम पारिश्रमिक नपाएको भन्दै आन्दोलनमा उत्रिएका चिकित्सकहरूले आज पनि धर्ना र प्रदर्शन जारी राख्ने भएका छन्। माइतीघर मण्डलामा भेला भएका चिकित्सकहरू स्वास्थ्य तथा जनसंख्या मन्त्रालयतर्फ प्रस्थान गर्ने तयारीमा छन्।
नेपाल चिकित्सक संघको आह्वानमा देशव्यापी रूपमा जारी आन्दोलन अन्तर्गत काठमाडौं उपत्यकामा स्वास्थ्य मन्त्रालय घेराउको कार्यक्रम छ भने उपत्यका बाहिरका चिकित्सकहरू सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा धर्नामा बस्ने कार्यक्रम रहेको छ।
संघले निजी मेडिकल कलेजहरूमा कार्यरत चिकित्सकहरूलाई आकस्मिक सेवा बाहेक सम्पूर्ण सेवा बन्द गरी आन्दोलनमा सहभागी हुन आग्रह गरेको छ। संघले काठमाडौं बाहिरका चिकित्सकलाई जिल्ला प्रशासन कार्यालय र उपत्यकाभित्रका चिकित्सकलाई स्वास्थ्य मन्त्रालय घेराउ गर्न निर्देशन दिएको छ।
आन्दोलनरत चिकित्सकहरूले चिकित्सा शिक्षा आयोगको १६ औं बैठकले गरेका निर्णय कार्यान्वयन नहुँदा बाध्य भएर आन्दोलनमा उत्रनुपरेको बताएका छन्। आयोगले आवासीय चिकित्सकलाई आठौं तहअनुसारको तलब सुविधा दिनुपर्ने निर्णय गरे पनि निजी मेडिकल कलेजहरूले सो निर्णय लागू नगरेको आन्दोलनकारीहरूको भनाइ छ।
यसअघि मन्त्रीपरिषद्ले आवासीय चिकित्सकलाई सेवा सुविधा उपलब्ध गराउने निर्णय गरिसकेको भए पनि कार्यान्वयन नभएको भन्दै उनीहरूले बिहीबार पनि स्वास्थ्य मन्त्रालयमा धर्ना दिन खोजेका थिए। माइतीघरबाट मन्त्रालयतर्फ जाँदै गरेका चिकित्सकहरूलाई प्रहरीले रोक्दा केहीबेर धकेलाधकेल समेत भएको थियो।
चिकित्सकहरूले आयोगद्वारा तोकिएको आठौं तहको तलब संरचना कार्यान्वयन र शैक्षिक प्रगतिको सुनिश्चितताको माग गर्दै सरकारसँग तत्काल पहल गर्न माग गरेका छन्। माग पूरा नभए देशभर आकस्मिक तथा सघन उपचार सेवा बाहेक सम्पूर्ण स्वास्थ्य सेवा बन्द गर्ने चेतावनी पनि संघले दिएको छ।–00–


