सरकारले आगामी वर्षको नीति तथा कार्यक्रम वैशाख १९ गते ल्याउने

काठमाडौँ, १० वैशाख  । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रम वैशाख १९ गते ल्याउने तयारी गरेको छ। बुधबार सिंहदरबारमा सभामुख देवराज घिमिरे, प्रमुख सचेतकहरू र प्रमुख दलका नेताबीच भएको छलफलपछि सो मिति तय गरिएको हो।

एमालेका प्रमुख सचेतक महेश बर्तौलाले प्रतिनिधिसभाको क्यालेन्डर मस्यौदा तयार गरिएको जानकारी दिँदै, सोही अनुसार वैशाख १९ गते नीति तथा कार्यक्रम प्रस्तुत गरिने बताए।

बर्तौलाले विद्यालय शिक्षा विधेयक संसदमा दर्ता हुनेबित्तिकै प्राथमिकताका साथ पारित गर्ने सहमति पनि भएको जनाए। उनका अनुसार वैशाख १२ गते बस्ने पहिलो बैठकमा शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

संसद दैनिक सञ्चालन हुने

प्रतिनिधिसभाको आगामी अधिवेशनमा शनिबार र सार्वजनिक बिदाका दिन बाहेक हरेक दिन बैठक सञ्चालन गर्ने सहमति भएको छ। सभामुख घिमिरेले पूर्वबजेट छलफल, नीति तथा कार्यक्रम, बजेट तथा विद्यालय शिक्षा विधेयकका कारण संसदलाई नियमित रूपमा सञ्चालन गर्नुपर्ने बाध्यता रहेको बताए।

विद्यालय शिक्षा विधेयकलाई प्राथमिकता

सभामुख घिमिरेले विद्यालय शिक्षा विधेयक संसदमा पेश भएपछि तत्काल प्राथमिकताका साथ छलफलमा लैजानुपर्नेमा जोड दिएका छन्। बैठकले उनको प्रस्ताव अनुमोदन गर्दै सोही अनुसारको कार्यतालिका तयार पार्ने निर्णय गरेको छ।

कार्यव्यवस्था परामर्श समितिको बैठक वैशाख १२ गते

कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले प्रतिनिधिसभाको कार्यतालिका वैशाख १२ गते बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकमा पेस गरिने जानकारी दिए। उनका अनुसार विद्यालय शिक्षा विधेयक उपसमितिले वैशाख २३ भित्र प्रतिवेदन बुझाउने प्रतिबद्धता जनाएकोले, सोहीअनुसार संसदले आवश्यक तयारी अघि बढाउनेछ।–00–

Share:

सम्बन्धित समाचारहरु