काठमाडौं, ८ वैशाख। राजधानीको माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्मको सडक खण्डमा जारी शिक्षकहरूको आन्दोलनमा घुसपैठ गरेको आरोपमा एक जना व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिइएको छ।
प्रदर्शनका क्रममा ती व्यक्ति शिक्षकहरूकै भीडमा नाराबाजी गर्दै हिँडिरहेका थिए। उनले आफू विद्यार्थीको अभिभावक भएको बताउँदै शिक्षकहरूको आन्दोलनको विरोधमा अभिव्यक्ति दिएका थिए। शिक्षकहरूले ती व्यक्तिलाई आन्दोलनमा जानाजान अवरोध गर्न खोजेको भन्दै रोकेका थिए। त्यसक्रममा उनीमाथि सामान्य कुटपिटसमेत भएको बताइएको छ।
पछि शिक्षकहरूले उनलाई प्रहरीको जिम्मा लगाएका थिए। तर, प्रहरीको नियन्त्रणमा पुगेपछि पनि केही आक्रोशित शिक्षकहरूले उनलाई फेरि झम्टन खोजेका थिए। प्रहरीले अहिले ती व्यक्तिलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ।–00–


