शिक्षक आन्दोलन आज बिहान ९ बजेदेखि सुरु, ट्राफिक प्रभावित हुने

काठमाडौं, ७ बैशाख । जारी रहेको शिक्षक आन्दोलन आज बिहान ९ बजेदेखि नै सुरु  भएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को प्रदर्शनलाई ध्यानमा राख्दै शिक्षक महासंघले आन्दोलनको समय तालिकामा परिवर्तन गरेको हो।

शिक्षक महासंघले आन्दोलनमा सहभागी हुने शिक्षकहरूलाई बिहान ९ बजेभित्र प्रदर्शनस्थलमा हाजिर भइसक्न र १२ बजेअघि प्रदर्शनस्थल छाड्न आह्वान गरेको छ।

अन्य दिनहरूमा शिक्षक आन्दोलनका कारण दिउँसो १२ बजेदेखि ३ बजेसम्म माइतीघर मण्डला–नयाँ बानेश्वर सडकखण्ड अवरुद्ध हुने गरेको थियो। तर आज भने बिहान ९ बजेदेखि नै उक्त सडक खण्ड अवरुद्ध हुने भएकाले कार्यालय समयको ट्राफिक व्यवस्थापनमा असर पर्ने भएको छ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार आज बिहानदेखि नै नयाँ बानेश्वर–माइतीघर सडकमा सवारी डाइभर्सन गरिनेछ। वैकल्पिक मार्गका रूपमा हनुमानस्थान–थापागाउँ खण्ड प्रयोग गर्न ट्राफिक कार्यालयले सवारी चालकहरूलाई आग्रह गरेको छ।–00–

Share:

सम्बन्धित समाचारहरु