चितवन, ५ बैशाख।
प्रधानमन्त्री केपी शर्मा ओलीले देशभर विकास निर्माणका काम तीव्र रूपमा अगाडि बढिरहेको बताएका छन्। पूर्व–पश्चिम राजमार्गअन्तर्गत पुलचोक–गोन्द्राङ खण्डको ६ लेन सडक उद्घाटन कार्यक्रममा बोल्दै उनले सबैलाई विकासमा समर्पित भएर लाग्न आग्रह गरे।
“अहिले चुनाव लाग्या छैन, प्रचार गर्नु पर्ने बेला पनि होइन। त्यसैले सधैं राजनीति मात्रै होइन, विकासमा पनि ध्यान दिऊँ। हामीले मतभेदमा होइन, एकतामा जोड दिनुपर्छ,” प्रधानमन्त्री ओलीले भने।
उनले विचारमा विविधता स्वाभाविक भए पनि देशको विकासमा मतभेद गर्नु आवश्यक नरहेको बताए। “देश हामी सबैको हो, हामी सबै मिलेर बनाउने हो। कोही आएर हाम्रो देश बनाइदिँदैन,” प्रधानमन्त्री ओलीको भनाइ थियो।
चितवनको ऐतिहासिक महत्व उल्लेख
प्रधानमन्त्री ओलीले चितवन जिल्लाको ऐतिहासिक महत्व पनि स्मरण गरे। उनले त्रेतायुगदेखि राम जन्मेकी भूमिका रूपमा चितवनलाई सभ्यताको सुरुआत भएको भूभागका रूपमा वर्णन गरे।
भव्य सडक उद्घाटन — एक अर्ब बढी लागतमा निर्माण
पुलचोक–गोन्द्राङबीचको ६ लेन सडक एक अर्ब १३ करोड ३५ लाख ३४ हजार रुपैयाँ लागतमा निर्माण गरिएको हो। उद्घाटन समारोहमा प्रधानमन्त्रीदेखि स्थानीय जनप्रतिनिधिसम्मको उपस्थितिले कार्यक्रमलाई भव्य बनाएको थियो।
प्रधानमन्त्री ओली, उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंह, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा, र भरतपुर महानगर प्रमुख रेणु दाहालले संयुक्त रूपमा रिबन काटेर सडक उद्घाटन गरेका हुन्।
एशियाली मापदण्डअनुसार निर्माण, राष्ट्रिय लगानीमा सम्पन्न
उक्त सडक भैरहवा, वीरगञ्ज, पोखरा र काठमाडौँको मध्य भागमा पर्ने एसियाली मापदण्डअनुसार निर्माण गरिएको हो। निर्माण कार्यको शिलान्यास २०७७ माघ १७ गते स्वयं प्रधानमन्त्री ओलीले गरेका थिए।
कार्यक्रमको समापनमा प्रधानमन्त्रीले पूर्व–पश्चिम राजमार्गलाई थप फराकिलो बनाउँदै लैजाने सरकारको योजना रहेको पनि स्पष्ट पारे।
–oo–


