मकवानपुर, ५ बैशाख । ६ महिनाको अवरोधपछि हेटौंडा सिमेन्ट उद्योग पुनः सञ्चालनमा आएको छ। उद्योगका यन्त्रहरुको मर्मतसम्भार र कच्चा पदार्थको आपूर्ति भएपछि गत मङ्गलबारदेखि सिमेन्ट उत्पादनको तयारीस्वरूप चुनढुङ्गा उत्पादन थालिएको हो।
उद्योगका निमित्त महाप्रबन्धक नवीनकुमार कर्णका अनुसार अब केही दिनभित्रै सिमेन्ट उत्पादन सुरु हुनेछ। उनका अनुसार हाललाई दैनिक ६०० क्विन्टल सिमेन्ट उत्पादन गर्ने लक्ष्य राखिएको छ।
विसं २०३३ मा जडान गरिएका यन्त्रहरु जीर्ण भइसकेकाले नयाँ यन्त्र खरिद गर्नुपर्ने आवश्यकता औंल्याउँदै कर्णले भने, “नेपाल विद्युत् प्राधिकरणलाई महसुल तिर्न र कर्मचारीको पारिश्रमिक व्यवस्थापनमै कठिनाइ भइरहेको अवस्थामा नयाँ उपकरण खरिद गर्नु निकै चुनौतीपूर्ण छ।”
उनले उद्योगको समस्यामा सरकारको सहयोगप्रति आशा व्यक्त गरे।–00–