काठमाडौं, २ बैशाख । आन्दोलनरत शिक्षकहरूले कक्षा १२ को परीक्षालाई बहिष्कार गर्ने, नयाँ भर्ना रोक्ने भएका छन्। नेपाल शिक्षक महासंघको नेतृत्वमा काठमाडौंको बिजुलीबजारमा १३ दिनदेखि सडक आन्दोलनमा उत्रेका शिक्षकहरूले सरकारले मागको सुनुवाइ नगरेसम्म कक्षा १२ को परीक्षालाई बहिष्कार गर्ने निर्णय गरेका हुन। पूर्वघोषणाअनुसार वैशाख महिनाको ११ गतेदेखि कक्षा १२ को परीक्षा सञ्चालन हुँदैछ। यता विद्यालयहरूको नयाँ शैक्षिक सत्र पनि सुरु भएको छ।
महासंघका महासचिव तुलाबहादुर थापाले माग पूरा नगरेसम्म कक्षा १२ को परीक्षामा कुनै शिक्षक कर्मचारी सहभागी नहुने निर्णय गरेको जनाए। यसरी महासंघले परीक्षा बहिष्कार गरेको र नयाँ भर्ना लिन रोक्ने निर्णय गरेको उनले बताए।
महासचिव थापाका अनुसार सीटीईभीटीले सञ्चालन गरिरहेको परीक्षा पनि रोक्न आह्वान गरिनेछ। उनले सीटीईभीटीले परीक्षा सञ्चालन गरिरहेको भन्ने सुनिएकाले यसबारे विज्ञप्ति निकालेर रोक्न लगाउने बताए। थापा भन्छन्, ‘केही संस्थागत, सामुदायिक विद्यालयहरू पनि खुलेको भन्ने सुनिएकाले सबैलाई बन्द गर्न सोमबार बसेको बैठकले विज्ञप्ति निकालेर आह्वान गर्ने निर्णय गरेको छ। यसअघि पनि निर्णय भएको थियो।’–00—


