लोकतान्त्रिक व्यवस्थाबाट मुलुक पछि फर्कन सक्दैनः प्रधामन्त्री ओली

काठमाडौं, ३ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतान्त्रिक व्यवस्थाबाट मुलुक पछि फर्कन नसक्ने बताउनुभएको छ ।

काठमाडौंमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल उद्योग परिसङ्घले आयोजना गरेको महिला नेतृत्व सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले लोकतन्त्र मुलुकको राजमार्ग भएको भन्दै लोकतान्त्रिक व्यवस्थाबाट मुलुक पछि फर्कन नसक्ने बताउनुभएको हो ।

सरकार र निजी क्षेत्रको सहकार्य बढाउँदै विविध क्षेत्रमा निजी क्षेत्रलाई प्रोत्साहन गरिएको उहाँको भनाइ छ । अर्थतन्त्रको विकासका लागि सरकार सुशासनमा प्रतिबद्ध रहेको र निजी क्षेत्रको अगुवाइपूर्ण भूमिकालाई महत्व दिन तत्पर रहेको प्रधानमन्त्रीले स्पष्टपार्नुभयो ।

 

महिला र पुरुषको समान सहभागिताले मात्रै मुलुकको सबै क्षेत्रमा समारात्मक परिवर्तन ल्याउन सकिने उहाँको भनाई थियो । सामाजिक न्याय र समानता स्थापित गर्दै गरिबी हटाउने सवालमा निजी क्षेत्रसँग मिलेर काम गर्नुपर्ने प्रधानमन्त्री ओलीको भनाई छ ।

कानूनहरू काम अल्झाउन नभई विकासमा सहयोगी हुन बनाइनुपर्ने भन्दै ओलीले सबैको सुझावका आधारमा सरकारका नीति, व्यवहार र कानूनहरूलाई परिस्कृत गर्ने प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले वर्तमान सरकारले निजी क्षेत्रको सहकार्यमा औद्योगिकरणको प्रवर्द्धनलाई प्राथमिकता दिएको बताए । सरकारी निकायमा स्वदेशी वस्तुको उपयोगसम्बन्धी कार्यविधि जारीलगायत सुधारका माध्यमबाट आर्थिक क्षेत्रको विकासका लागि काम भइरहेको मन्त्री भण्डारीको भनाइ छ ।

सम्मेलनको उद्घाटनका क्रममा राष्ट्रिय फुटबल खेलाडी प्रिती राई र अभियन्ता रुक्साना कपालीलाई सम्मान गरिएको थियो ।–00—

 

Share:

सम्बन्धित समाचारहरु