चितवनले जनकपुरलाई दियो १८१ रनको लक्ष्य

काठमाण्डौ २९, मंसिर ।

कप्तान कुशल मल्लको अर्धशतकप्रेरित चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सविरुद्ध १८१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस जितेर ब्याटिङमा आएको चितवनले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १८० रनको योगफल खडा गरेको हो ।

चितवनका कप्तान कुशल मल्लले सर्वाधिक ७२ रन बनाए । एनपीएलमा कुशलको यो पहिलो अर्धशतक हो । योसँगै कुशल प्रतियोगिताम अर्धशतक बनाउने १९औँ ब्याटर बने ।

५३ रनमा खेलिरहँदा जिनवदान पाएका कुशलले ४१ बलमा तीन चौका र सात छक्का प्रहार गरे । जिम्मी निसमले गरेको १६.३ ओभरमा आसिफ सेखले कुशलको क्याच मिस गरेका थिए ।

कुशलले ५५–३ को स्थितीबाट रवि बोपारासँग ११३ रनको शतकीय साझेदारी गर्दै चितवनलाई बलियो योगफलसम्म पूर्याएका थिए । कुशललाई १९औँ ओभरको चौथो बलमा जिम्मी निसमले अनिल साहबाट क्याच गराए ।

बोपाराले ४४ रन बनाए । अर्धशतक बनाउन ६ रनले चुकेका बोपाराले ३२ बलमा पाँच चौका र एक छक्का प्रहार गरे । उनलाई २०औँ ओभरको दोस्रो बलमा ललितले अनिल साहबाट क्याच गराएका थिए ।

बसिल हमिदले दुई र सोहेल तान्विरले पाँच रनमा अविजित रहे ।

ओपनर हसन एसाखिलले २८ रन बनाए । हर्ष थाकेरले गरेको सातौँ ओभरको चौथो बलमा विकेटकिपर लहिरु मिलान्थाबाट क्याच हुनुअघि एसाखिलले १९ बलमा चार चौका र एक छक्का प्रहार गरे ।

अर्का ओपनर विपिन रावत भने तीन रनको सस्तै स्कोरमा पभेलियन फर्किए । विपिनलाई जनकपुरका ललितनारायण राजवंशीले तेस्रो ओभरको चौथो बलमा कप्तान अनिल साहबाट क्याच गराएका थिए ।

जनकपुरका ललित नारायण राजवंशीले दुई विकेट लिए । जनकपुरबाट सबैभन्दा किफायती बलर बनेका ललितले चार ओभर बलिङ गर्दा दुई मेडन फ्याक्दै ११ रनमात्र खर्चिए । हर्ष थाकेर, मोहमद मोहसिन र जिम्मी निसमले समान एक विकेट लिए ।

आजको खेलमा चितवन जितको दबाबमा छ । ६ खेलबाट ६ अंकसहित तालिकाको चौथो स्थानमा रहेको चितवनलाई आजको खेलमा जितले मात्र प्लेअफ समीकरणमा कायम राख्नेछ ।

यता, जनकपुर भने सहज स्थितीमा छ । तालिकाको शीर्ष स्थानमा आसिन जनकपुरले प्लेअफमा स्थान सुनिश्चित गरिसकेको छ । जनकपुरले ६ खेलमा पाँच जितसहित १० अंक जोडेको छ ।

यसअघि आजैको पहिलो खेलमा काठमाडौं गुर्खाजले पोखरा एभेन्जर्सविरुद्ध ६ विकेटको जित निकालेको थियो ।

Share:

सम्बन्धित समाचारहरु