भरतपुर महानगरपालिकाको भगेडीमा पोथी गैंडा मृत अवस्थामा फेला

चितवन, ८ साउन । भरतपुर महानगरपालिकाको वडा नं. २६ भगेडीमा एउटा पोथी गैंडा मृत अवस्थामा फेला परेको छ । यो वडा चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्दछ ।

 

कालाबञ्जर मध्यवर्ती उपभोक्ता सामुदायिक वन क्षेत्रमा एउटा बुढो पोथी गैंडा मृत फेला परेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो ।

 

गैंडाको खाग र खुर सुरक्षित छ भने शरिरमा कुनै चोटपटक देखिएको छैन । उक्त गैंडा बुढो भएर मरेको हुन सक्ने अनुमान गरिएको तिवारीले बताउनुभयो । गैंडा मृत फेला परेको विषयमा थप अनुसन्धान भइरहेको छ । मृत गैंडाको वरपर पनि कुनै शंकास्पद वस्तु भेटिएको छैन ।

चालु आर्थिक वर्षमा गैंडाको यो पहिलो मृत्यु हो ।

गत आर्थिक वर्षमा चितवनमा २१ वटा गैंडाको मृत्यु भएको थियो । १८ वटा कालगतीले र दुई वटा चोरी शिकारीले मृत्यु भएको थियो । एउटा गैंडाको मृत्युको कारण भने खुलेको छैन ।–00–

Share:

सम्बन्धित समाचारहरु