कांग्रेसको महासमिति बैठक आजदेखि ललितपुरको गोदावरीमा सुरु हुँदै

काठमाण्डौ, ७ फागुन ।

नेपाली कांग्रेसको महासमिति बैठक आजदेखि ललितपुरको गोदावरीमा सुरु हुँदैछ ।

‘राजनीतिक स्थायित्व, रुपान्तरण र नवीनता । स्वतन्त्रता, न्याय र समानता नेपाली कांग्रेसको नीतिगत प्रतिबद्धता’ भन्ने मूल नारासहित चार दिनसम्म चल्ने महासमिति बैठकको पार्टी सभापति शेरबहादुर देउवाले आज दिउँसो एक बजे उदघाटन गर्ने छन् ।

बैठकमा नीति, सांगठनिक, समसामयिक, वर्तमान आर्थिक अवस्था र लेखा गरी पाँच प्रतिवेदन पेस हुनेछन् । नीति प्रतिवेदन उपसभापति पूर्णबहादुर खड्काले, सांगठनिक प्रतिवेदन महामन्त्री गगन थापाले र समसामयिक राजनीतिक प्रतिवेदन अर्का महामन्त्री विश्वप्रकाश शर्माले प्रस्तुत गर्ने छन् ।

यसैगरी अर्थमन्त्रीसमेत रहेका पार्टी प्रवक्ता डा। प्रकाशशरण महतले नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशा समेटिएको प्रतिवेदन र लेखा समितिका संयोजक श्याम घिमिरेले लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गर्नेछन् ।

नीति अधिवेशनका रुपमा रहेको महासमिति बैठकमा प्रस्तुत हुने प्रतिवेदनमाथि समूहगत छलफल हुने छ । तराई, पहाड, मधेश, हिमालबाट प्रतिनिधित्व हुने गरी समूह बनाएर छलफल गर्ने तयारी छ ।

बैठकमा आधिकारिक प्रतिनिधिको संख्या २ हजार १०५ भए पनि सहभागीको संख्या २ हजार ५ सय बढी पुग्ने प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए ।

Share:

सम्बन्धित समाचारहरु