अटिजम केयर चितवन सोसाईटीले समावेशी शिक्षा परियोजनाको सामाजिक लेखा परीक्षण र वार्षिक साधारण सभा सम्पन्न

दुई कार्यक्रम एकै समारोहमा

चितवन, ५ पुस । यु के एड को आर्थिक, ह्याण्डक्याप इन्टरनेशलको प्राविधिक सहयोगमा अटिजम केयर चितवन सोसाइटीद्वारा चितवन जिल्लाका दुई पालिकामा समावेशी शिक्षा परियोजना अपाङ्गता भएका बालबालिका तथा अन्य सबै बालबालिकाहरूको लागि शिक्षा पहुँच र सुनिश्चितताका लागि संचालित रहेको छ । परियोजनाले पालिकाका समुदाय र विद्यालयसँग सहकार्य गरेर विभिन्न क्रियाकलापहरु गर्दै आएको छ ।

समुदायस्तरमा घुम्ती शिक्षकद्वारा घरमा आधारित शिक्षा, घरमा पहुँचयुक्त वातावरणका लागि उपयुक्त अनुकूलन, सहायक सामग्री सहयोग प्रदान गरी दैनिक कार्यमा सहजीकरण गर्दै आइरहेको छ । सोसाइटीले आज भरतपुरमा परियोजना सुरु भए देखिको आज सम्मको सामाजिक लेखा परीक्षण सम्पन्न गरेको छ ।

कार्यक्रममा दुवै पालिकाका परियोजनाका प्रत्यक्ष सरोकारवालाहरु पालिकाका गैर सरकारी समन्वय, स्वास्थ्य शाखा, शिक्षा शाखा, महिला तथा बालबालिका शाखा तथा जनप्रतिनिधि र विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन अध्यक्ष, गुनासो सुन्ने शिक्षक, बाल क्लब, सिकाइका लागि विश्वव्यापी ढाँचा, घरमा आधारित शिक्षाका अभिभावकको प्रतिनिधि लगायत अपाङ्गता भएका ब्यक्तिहरुको संस्थाका प्रतिनिधिहरु, ह्याण्डक्याप इन्टरनेशल, संस्थाका कार्यसमितिका सदस्यहरू र परियोजनाका कर्मचारीहरु उपस्थिति रहेको थियो।

हालसम्म परियोजनाको पहुँचमा पुगेका लाभग्राही ४९ हजार चार सय ९३ बालबालिका, छ सय ६० शिक्षक, एक हजार सात सय पाँच अभिभावक तथा एक हजार छ सय ७२ अन्य सरोकारवाला रहेका जनाइएको छ । कार्यक्रममा परियोजनाका हाल सम्मको कार्यक्रमको प्रगति प्रतिवेदन र आगामी गरिने कार्यक्रमको बारेमा जानकारी सहजकर्ता मिलन खराल सरले सहजीकरण गर्न भएको थियो । सरोकारवालाहरुको गुनासो र सुझाव सुन्ने क्रममा भरतपुर महानगरपालिकाका जन स्वास्थ्यका सरले अपाङ्गताको विषयमा अझै धेरै चासो लिनु भएको थियो भने अपाङ्गता समन्वय समितिका संयोजक निर्मल कुमार सरले यो संस्थाले हामी जस्ता अपाङ्गताको क्षेत्रमा काम गर्ने व्यक्तिहरूलाई पैरवी गर्नको लागि निकै उत्साहित गरेको छ भने हामीलाई अपाङ्गता भएका ब्यक्तिहरुको हक अधिकारमा लड्ने व्यक्तिहरूलाई सुत्न दिएको छैन।

अन्तमा ह्याण्डिक्याप इन्टरनेशनलका अपरेसन हेड मदन जोशी सरले परियोजना सीमित अवधिको मात्र हुने भएकोले यस्ता कामहरुमा स्थानीय सरकारहरूको प्रत्यक्ष सहकार्य हुन सकेमा दिगोपन दिन सकिने भन्दै कार्यक्रमको समीक्षा गरी संस्थाका अध्यक्ष निर्मला डल्लाकोटीले सामाजिक लेखा परीक्षण कार्यक्रम समापन गर्नु भयो । यसैबीच, सोसाइटीको आजै भएको साधारणसभाका क्रममा बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री उत्तम जोशीले अटिजम बारे आफूले भरखरै बुझ्ने मौका पाएको भन्दै अटिजम भएका व्यक्तिको सहजीकरणका लागि सुझाव लिएर अघि बढ्ने बताउनुभयो । उहाँले आफू सबैसँग सहकार्य गरेर अघि बढ्ने भन्दै अटिजम भएका व्यक्तिको लागि आवश्यक पर्ने सहयोग गर्न आफू प्रतिबद्ध रहेको बताउनुभयो ।

साधारणसभाका क्रममा संस्थाका सचिव सुनीलचन्द्र शर्माले वार्षिक प्रगति प्रतिवेदन तथा आगामी वर्षको कार्ययोजना र कोषाध्यक्ष विष्णु सिग्देल ढुंगानाले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा भरतपुर महानगरपालिका नगर शिक्षा अधिकारी महेन्द्र पौड्याल, अपाङ्गता समन्वय समिति चितवनका संयोजक निर्मलकुमार श्रेष्ठ, ह्याण्डिक्याप इन्टरनेशनलका अपरेसन हेड मदन जोशीलगायतले मन्तव्य राख्नुभएको थियो । संस्थाकी अध्यक्ष निर्मला डल्लाकोटीको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका सदस्य लालमणि पौडेलले स्वागत मन्तव्य राख्नुभएको थियो ।

 

–00–

Share:

सम्बन्धित समाचारहरु