कालिका, ३० असोज । कालिका नगरपालिकाका प्रमुख विनोद रेग्मीले स्थानीय सामुदायिक वनलाई पर्यापर्यटन क्षेत्रको रुपमा विकासगर्न नगरपालिका तयार रहेको बताउनुभएको छ । त्यसका लागि सामुदायिक वनले फोहोर व्यवस्थापनका लागि निश्चित ठाउँ उपलव्ध गराउनुपर्ने बताउनुभयो । वरण्डाभार क्षेत्र अन्तर्गत थाङखोला सामुदायिक वन उपभोक्ता समुहको ११ औं वार्षिक साधरण सभा तथा पाँचौं अधिवेशनलाई संवोधनगर्दै नगर प्रमुख रेग्मीले स्थानीय सामुदायिक वनक्षेत्रको विकासका लागि शर्त सहित नगरपालिका तयार रहेको बताउनुभयो ।
फोहोर व्यवस्थापनका लागि ठाउँ अभावका कारण नगरपालिकाले नगरक्षेत्रको फोहोर व्यवस्थापन गर्न सकेको छैन । नगर क्षेत्रभित्रका सामुदायिक वनहरुले निश्चित ठाउँ उपलव्ध गराए नगरपालिकासँग फोहोर व्यवस्थापनगरी त्यसवाट मोहोर बनाउने योजना रहेको नगर प्रमुख रेग्मीको भनाई छ । कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका नगर प्रमुख रेग्मीले नगरक्षेत्रभित्रका फोहोर व्यवस्थापनका लागि डेढ देखि २ विगहा क्षेत्रफल ठाउँ भए पुग्ने बताउनुभयो । समुदायलाई असरनपर्नेगरी फोहोरको सटिङ विधिवाट फोहोर व्यवस्थापन गरिने बताउनुभयो । फोहोर थुपार्नका मात्रै लागि ठाउँ चाहिएको होइन उहाँले भन्नुभयो– फलाम, पलाष्टिकलाई छनौटगरी त्यसलाई व्यवस्थित बनाउँछौं हामीलाई स्थान उपलव्ध गराउनुस ।
फोहोर व्यवस्थापनका लागि आवश्यक बजेट नगरपालिका आफैले व्यवस्थापनगर्ने समेत उहाँको भनाई छ । वन र वातावरण जोगाउने दायित्व सबैको भएकाले संरक्षण मात्रै होइन त्यसको उपभोगगर्न पनि पाउनुपर्ने उहाँले बताउनुभयो । सामुदायिक वनले फोहोर व्यवस्थापनका लागि साथ दिए नदीजन्य बस्तुको उपयोगबारे सम्पूर्ण विधि र प्रकृया पुरा गरेर मात्रै फोहोर व्यवस्थापन गरिने समेत उहाँले स्पष्टपार्नुभयो । थाङखोला सामुदायिक वनलाई पर्यटकीय क्षेत्रको रुपमा विकासगर्न नगरपालिका तयार रहेको उहाँले बताउनुभयो । हाम्रो शर्त अनुसार सामुदायिक वन तयार भए यहाँको विकासमा नगरपालिका आवश्यक बजेट जुटाउन तयार रहेको स्पष्टपार्नुभयो । थाङखोला सामुदायिक वन क्षेत्रलाई पर्यटनसँग जोड्न सकिने थुर्पै आधारहरु तयार रहेको नगर प्रमुख रेग्मीले बताउनुभयो । ढिडो र सिस्नुको लागि लोकप्रिय स्थलको रुपमा वा यहाँको तामा र ढिडोलाई पर्यटन क्षेत्रसँग जोड्न सकिने उहाँले बताउनुभयो ।
कार्यक्रममा डिभिजन वन कार्यालय चितवनका प्रमुख थिर वहादुर कार्कीले संजाल सशक्तिकरणको अवधारणालाई कार्यान्वयनमा ल्याउन सके मात्रै प्रभावकारी वन संरक्षण हुने बताउनुभयो । चोरी तस्करीसँगै डढोलो र अतिक्रमणको जोखिममा नेपालका सामुदायिक वनहरु रहेको उहाँको भनाई छ । कार्यक्रमका विशिष्ठ अतिथि समेत रहनुभएका डिभिजन वन कार्यालय चितवनका प्रमुख कार्कीले व्यक्तिगत र संस्थागत रुपमा भइरहेको वन अतिक्रमणले पनि संरक्षणमा चुनौती थपिदै गएको बताउनुभयो ।
कार्यक्रममा तराई भू–परिधि तालका रामप्रित यादवले वरण्डाभार क्षेत्रका सामुदायिक वनहरु जैविक मार्गको रुपमा सूचिकृत भएकाले विशेष महत्व रहेको बताउनुभयो । चितवन राष्ट्रिय निकुञ्जसँगै चुरेसँग जोडका लागि जैविक मार्गको रुपमा रहेकाले आफ्नो स्वार्थभन्दा माथी उठेर चितवनबासी वन र वातावरण संरक्षणमा लाग्नुपर्ने तर्कगर्नुभयो । अहिले प्रकृतिमाथी निरन्तर प्रहार भइरहेको छ उहाँले भन्नुभयो – वन र वातावरण संरक्षणमा देखिने फाइदा भन्दा नदेखिने फाईदा बढी छ ।
थाङखोला सामुदायिक वन उपभोक्ता समुहले कार्यालय व्यवस्थापक टंकनााथ घिमिरे र वन रक्षक गोविन्द पौडेलाई इन्दार र कर्तव्यनिष्ट कर्मचारीको रुपमा सम्मान गरेको छ । यस्तै सचिव पदवाट अवकाश हुनभएका ढाकाराम दाहाललाईपनि सम्मान गरेको छ ।
कार्यक्रममा वडा नं. ३ का वडा अध्यक्ष वीरेन्द्र तामाङ, वडा नं. २ का वडा अध्यक्ष लक्ष्मण पौडेल, टिकाराज रिजाल, वरण्डाभार वन परिषद्का उपाध्यक्ष मछिन्द्र पाण्डे लगायतले बोल्नुभएको थियो । कार्यक्रम सामुदायिक वनका अध्यक्ष रामकृष्ण भट्टको अध्यक्षतामा आयोजना गरिएको हो ।
अधिवेशनले नयाँ नेतृत्व चयनगर्नेछ

भ्यूटावर र चमनागृहको उद्घाटन-
सामुदायिक वनको ११ औं वार्षिक साधरण सभा तथा पाँचौं अधिवेशनको क्रममा ९ वर्ष अघि शिलन्यास गरिएको आठ तल्ले भ्यूटावर उद्घाटन गरिएको छ । कालिका नगर पालिकाका प्रमुख विनोद रेग्मीले रिवन काटेर उद्घाटन गर्नुभयो । यस्तै भ्यूटावरकै छेउमा निर्माण गरिएको चमेनागृहको पनि नगर प्रमुख रेग्मीले उद्घाटन गर्नुभएको हो । सामुदायिक वनले पर्यटकीय क्षेत्रको रुपमा विकासगर्ने योजना सहित भ्यूटावर, २ वटा पोखरी निर्माण गरेको छ । पोखरीलाई व्यस्थित बनाई माछापालनसँगै डुंगा शयरगर्न सकिनेगरी तयारपार्ने योजना लिएको छ ।
यो क्षेत्रलाई बनभोज स्थलको रुपमा समेत विकासगर्ने सामुदायिक वनको लक्ष्य छ ।
व्यस्थित शौचालय सहित सामुदायिक वन आफैले संचालनगर्नेगरी चमेनागृह निर्माण गरेको छ । जहाँ भान्सा सहित बाँस र खरले छाएको घर तयार भएको छ । यस्तै २ वटा पोखरी समेत तयार छ । पर्यापर्यटन पूर्वाधार निर्माण विकास कार्यक्रम अन्तर्गत विभिन्न सहयोगी संस्था र नगरपालिकाको सहयोगमा निर्माण गरिएको हो ।



















—-00–


