दशैंको टीकाको शुभसाइत बिहान ११ बजेर २ मिनेटमा

यस वर्षको दसैँका विभिन्न साइत सार्वजनिक

काठमाडौं, १६ असोज

नेपाल पञ्चाङ्ग निर्णायक समितिले एक विज्ञप्ति जारी गर्दै यस वर्षको दसैँका विभिन्न साइत सार्वजनिक गरेको छ ।

पञ्चाङ्ग निर्णायक समितिका अनुसार असोज २८ गते आइबार बिहान ११ बजेर २९ मिनेटमा घटस्थापनाको साइत रहेको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेलले जानकारी दिए ।

असोज २९ गते सोमबार झण्डा फेर्ने साइत १०/१९ बजे रहेको छ । पश्चिम फर्केर झण्डा फेर्नुपर्ने उनले जानकारी दिए । कात्तिक २ गते बिहीबार पचली भैरव यात्रा गरिन्छ ।

कात्तिक ४ गते शनिबार फूलपाती परेको छ । फूलपातीकै दिन तुलजा भवानीलाई मूल मन्दिरबाट हनुमानढोकाको मूल चोकमा यात्रा गराइन्छ । मूलचोकमै भवानीलाई साक्षी राखेर महाअष्टमीका दिन राति कालरात्रि पूजासहित राज्यकोतर्फबाट बोका र राँगाको बलि दिइन्छ । तुलजा भवानी यात्राको साइत बिहान ८/२४ बजे रहेको छ । तुलजा भवानीलाई बिहान ९/३५ बजे स्थिरासन गराइन्छ ।

कात्तिक ५ गते आइतबार महाअष्टमी, त्यसै राति कालरात्रिको पूजा गर्नुपर्ने समितिले जनाएको छ ।

कात्तिक ६ गते सोमबार महानवमी पर्व मनाइन्छ ।

कात्तिक ७ गते मंगलबार विजयादशमी पर्व परेको छ । घटस्थापनाका दिनदेखि पूजा आराधना गरिने देवीलाई बिहान १०/३७ बजे विसर्जन गरिने साइत छ ।

विजयादशमीका दिन साइत खोजेर टीका लगाउनेका लागि बिहान ११/२ बजेको साइत शुभ रहेको छ । टीका लगाउने मानिस पश्चिम मोहडा फर्किनुपर्ने समितिले जनाएको छ । त्यस दिनदेखि कोजाग्रत पूर्णिमासम्म दुर्गा भवानीको प्रसाद लगाउन सकिन्छ ।

विजयादशमीका दिन बिहान ९स्२ बजे तुलजा भवानीलाई मूल चोकबाट मूल मन्दिरमा फिर्ती यात्रा गराइने साइत छ । तुलजा भवानीलाई बिहान १०/३ बजे स्थिरासन गराइने साइत पनि समितिले निकालेको छ ।

खड्गयात्रा पनि यसै दिन गरिने छ ।

यस्तै कार्तिक १० गते शुक्रबार अखिल बलि पूर्ति गरिन्छ । त्यसै रात कार्तिक ११ गते शनिबार कोजाग्रत पूर्णिमा पर्व मनाइन्छ ।

हेर्नुहोस् नेपाल पञ्चाङ्ग निर्णायक समितिको विज्ञप्ति:

Share:

सम्बन्धित समाचारहरु