चितवन, ५ असोज । थारु कल्याणकारिणी सभा चितवनको १३ औं जिल्ला अधिवेशन आजदेखि भरतपुरमा सुरु भएको छ । अधिवेशनको केन्द्रीय अध्यक्ष धनिराम चौधरीले उद्घाटनगर्नुभयो । उद्घाटन कार्यक्रममा नेपाली काँग्रेस चितवनका जिल्ला सभापति राजेश्वर खनाल,नेकपा एमाले चितवनका जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने लगायत थारु समुदायका अगुवाहरुले संवोधन गरेका थिए ।
उद्घाटन सत्रमा पूर्व सांसद रुक्मिणी चौधरी, पूर्व बागमती प्रदेशमन्त्री विजय सुवेदीसँगै पूर्व बागमती प्रदेश सांसद रामलाल महतोलाई सम्मान गरिएको छ । यस्तै थारु धर्मशाला निर्माणमा सहयोग पुयाउनुहुने ठाकुर प्रसाद चौधरी र धनबहादुर सुवेदीलाई सम्मान गरिएको छ । यस्तै शैक्षिक क्षेत्रमा योगदान पुयाउनहुने व्यक्तिहरुलाई समेत सम्मान गरिएको थियो । यस्तै माडी नगरपालिकाका नगर प्रमुख ताराकुमारी काजि महतो र उपप्रमुख खेमप्रसाद महतोलाई समेत सम्मान गरिएको छ ।
यस्तै कान्तिपुरका चितवन संवाददाता रमेशकुमार पौडेलाई ‘चितवन थारुरत्न’ ले सम्मान गरेको छ । चितवनका आदिवासी थारु समुदायको अधिकारदेखि साँस्कृतिक सहन सहन र समस्याका विषयमा निरञ्तर कलम चलाउँदै आउनु भएका कारण पत्रकार पौडेललाई थारुरत्न सम्मान प्रदान गरेको थाकस चितवनका अध्यक्ष ललितकुमार चौधरीले बताउनुभयो । पौडेल दुई दशकदेखि चितवनमा पत्रकारिता गर्दै आउनु भएको छ । कार्यक्रममा चितवनका अर्का पत्रकार कारी महतोसहित शिक्षा, समाज सेवा, कानुनी सेवा लगायतका विषयमा काम गर्दै आएका व्यक्तिहरुलाई पनि सम्मान गरिएको थियो ।
थाकसका पूर्व जिल्ला अध्यक्ष टिकेन्द्र चौधरीले थारु समुदायको साँझा जातीय संस्थाका रुपमा विस २००५ मा केन्द्रमा खुलेको यो संगठन चितवनमा २०१८ सालमा स्थापना भएको जानकारी दिनुभयो । चितवनका आदिवासी भइकन पनि थारु समुदाय राजैतिक र अन्य क्षेत्रमा पछाडी पार्ने काम भइरहेको उहाँको दुखेसो थियो । शनिबार सकिने अधिवेशनले थाकसको नयाँ कार्य समिति चयन गर्ने छ ।

–00–


