रास्वपाको ‘र्‍याट’ले बोकेको वाकीटकीमाथि छानविन गर्न सिडिओको निर्देशन

चितवन,२४ साउन । चितवनका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले नारायणगढ–मुग्लिन सडक खण्डमा खसेको पहिरो पन्छाई सडक सुचारु गर्न कुनै अमुक दल वा संगठनको सहयोग नलिईएको बताएका छन् । प्रमुख जिल्ला अधिकारी  पौडेलले आज एक सूचना जारी गरी अमुक दल वा संगठनको सहयोग लिन सुरक्षा निकायलाई स्वीकृति समेत नदिइएको बताएका छन् ।

नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाई यातायात व्यवस्थापनका लागि रास्वापाले हिजो र्‍यापिड एक्सन टिम (र्‍याट) परिचालन गरेको थियो । उक्त टिमका सदस्यले सञ्चारको साधन वाकीटकी प्रयोग गरेको देखिएकाले उक्त सञ्चार साधनको स्वीकृति र दर्तावाल हो वा होइन भनेर छनविन गर्न निर्देशन दिइएको पौडेलले बताए ।

‘उक्त संचार साधन स्वीकृति र दर्तावाल हो होइन छानविन गर्न प्रहरीलाई निर्देशन गरिसकिएको व्यहोरा समेत जानकारी गराउँदै विपदका यस्ता घटनाको राहत उद्धार र व्यवस्थापन गर्न सुरक्षा निकाय लगायत राज्यका अङ्गहरु सक्षम रहेको जानकारी गराउँदछौ’, सूचनामा भनिएको छ ।

ठुला विपदका घटनाहरुमा राजनीतिक दल, नागरिक समाज लगायत आम सर्वसाधारण नागरिकबाट कुनै दल विशेष वा संगठनको परिचय बिना विशुद्ध स्वयंसेवी राहत उद्धारकर्मीको रुपमा जिल्ला र स्थानीय विपद व्यवस्थापन समितिको स्वीकृति र खटिएका सुरक्षाकर्मीको समन्वयमा उद्धारमा खटिन सकिने पौडेलले बताएका छन् ।

–00–

Share:

सम्बन्धित समाचारहरु