हेटौंडा, २४ साउन । मकवानपुर बागमती ५ सिक्रे दोभानमा पहिरोसँगै बगेर बेपत्ता ५ जनामध्ये २ जनाको शव भेटिएको छ।
प्रहरी चौकी भोर्लेनीका अनुसार ६० वर्षीय अक्कलबहादुर स्याङ्तान र उनकी छोरी २२ वर्षीया शिला पहरी मृत अवस्थामा फेला परेका हुन्। उनीहरूको शव घर बगाएको ठाउँबाट १० किलोमिटर दक्षिण बागमती नदीको बगरमा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
बेपत्ता ६ जनामध्ये एक जनाको मंगलबार उद्धारपछि उपचार भइरहेको छ भने ३ जना अझै हराइरहेका छन्। उनीहरूको सोमबार रातिदेखि परेको पानीले घरमाथिबाट पहिरो आउँदा अक्कलबहादुरको घर बागमती खोलाले बगाएको थियो। उनको घर बागमती खोलाकै किनारमा रहेको कारण पहिरोले बगाएको हो। पहिरोमा परेका ७ जनामध्ये अक्क्लबहादुरकी श्रीमती शान्ताकुमारी स्याङ्तान हिजो बिहान घाइते अवस्थामा फेला परेकी थिइन्। उनको उपचारको क्रममा मृत्यु भएको थियो। यस्तै सिन्धुली हरिहरपुरगढी गाउँपालिका १ कोकटीका १७ वर्षीय पासाङ घिसिङलाई पनि हिजो साँझ घाइते अवस्थामा उद्दार गरिएको थियो। उनको हाल हेटौंडा अस्पतालमा उपचार भैरहेको छ।
हराइरहेका तीनजनाको खोजीका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी लगायतको टोली खटिएको छ। काभ्रे घर भएर केही दिन अघि परिवारको साथमा ससुराली आएका २५ बर्षीय जीवन पहरी, उनको ४ बर्षीय छोरा मिलन पहरी र डेढ बर्षीया छोरी दिब्या पहरी अझै बेपत्ता छन्।–00–


