भरतपुर, १० असार । भरतपुर महानगरपालिकाले “भरतपुर भ्रमण वर्ष २०२४” मा २ लाख पर्यटक भित्र्याइने लक्ष्य लिएको छ ।
तेह्रौँ नगरसभामा महानगरपालिका प्रमुख रेनु दाहाल द्धारा प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा “भरतपुर भ्रमण वर्ष, २०२४” मा २ लाख पर्यटक भित्र्याइने लक्ष्य लिएको उल्लेख गरिएको छ ।
“भरतपुर भ्रमण वर्ष, २०२४” लाई भरतपुर महानगरले निजी, सामाजिक, सामुदायिक, गैर सरकारी क्षेत्र लगायत महानगरका सम्पूर्ण सरोकारवाला पक्षहरूको सहभागितामा उत्सवका रुपमा मनाउने नीति तथा कार्यक्रममा जनाईएको छ ।
वर्षैभरि पर्यटन प्रवर्धन अभियानका रुपमा अगाडि बढाई पर्यापर्यटन, सांस्कृतिक पर्यटन, साहसिक पर्यटन, धार्मिक पर्यटन, जल पर्यटन, माइस पर्यटन, कृषि पर्यटन, विकास पर्यटन, स्वास्थ्य पर्यटन, सहकारी पर्यटन, खेल पर्यटन र शैक्षिक पर्यटनका मध्यमबाट विदेशी २ लाख पर्यटक भित्र्याइने नीति लिएको छ ।
भरतपुर भ्रमण वर्ष २०२४ सफल बनाउन निजी तथा साझेदार संघ संस्था, प्रदेश सरकार एंव संघीय सरकारसँग समन्वय तथा सहकार्य गरिनेछ ।
पर्यटन क्षेत्रको विकास र विस्तारको लागि अल्पकालीन, मध्यम कालीन र दीर्घकालीन गुरुयोजना तर्जुमा गरी वार्षिक कार्यक्रममा समावेश एवम् कार्यान्वयन गरिनेछ ।
भरतपुर (चितवन) – पोखरा (कास्की) – लुम्बिनी (रुपन्देही) स्वर्ण त्रिकोण पर्यटन प्रवर्धन कार्यक्रमलाई सफलतापूर्वक कार्यान्वयन गरिनेछ ।
महानगरपालिकाले पहिचान गरेका ३० वटा प्रमुख पर्यटकीय गन्तव्यहरूको प्रवर्धन तथा विकास गरिनेछ । पर्यटन सूचना नक्सा तयार गरी कार्यान्वयनमा ल्याइनेछ ।स्थानीय उपभोक्ताहरूको साझेदारीमा चौकीडाँडालाई हिल स्टेसनको रुपमा विकास गरिनेछ ।
भरतपुर भ्रमण वर्ष, २०२४ सन्दर्भमा नारायणी नदी किनारमा पर्यटकीय स्तम्भ निर्माण गरिनेछ। भरतपुर भ्रमण वर्ष २०२४ लाई सफल बनाउन महानगरका मुख्य प्रवेश मार्गमा स्थानीय कला र संस्कृति झल्कने गरी प्रवेश द्वार निर्माण गर्नुका साथै पर्यटकीय स्थलहरूको सौन्दर्यीकरण गर्ने जनाएको छ ।
आदिवासी जनजाति, पिछडा वर्ग आदिको भाषा, लिपि, बाजागाजा, रीतिरिवाज परम्परा संस्कृति आदिको संरक्षण गर्ने नीतिलाई निरन्तरता दिइनेछ। विभिन्न जाति जनजातिको पहिचान झल्किने सांस्कृतिक महोत्सव आयोजना गरिनेछ ।
महानगरपालिकाको सांस्कृतिक सम्पदा सूचीहरूको सर्वेक्षण गरी महत्वपूर्ण सम्पदा स्थलहरूको संरक्षण गुरुयोजना तयार गरिनेछ। महानगरका परम्परागत रैथाने संस्कृतिहरू, सम्पदा र उत्पादनहरूलाई बजारीकरण गर्न आवश्यक कार्यक्रमहरू अगाडि बढाउने भएको छ ।
पर्यटन सम्बन्धी सम्पूर्ण कार्यक्रमलाई व्यवस्थित गर्न पर्यटन कार्यविधि बनाई कार्यक्रमहरू सञ्चालन गरिनेछ।
भरतपुर महानगरपालिकाले दरबन्दी थपेर नगर प्रहरीको संख्या बढाउने भएको छ । आईतबार १३औं नगरसभामा महानगरपालिकाको संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदन पेश गर्दै प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र कुमार रानाले नगर प्रहरी थप गर्न लागिएको जनकारी दिएका हुन् । उनले नगरसभामा साविकको कर्मचारी दरबन्दीमा सामान्य परिमार्जन गरी अस्थायी कर्मचारी दरबन्दीतर्फ नगर प्रहरी नायव उपरीक्षक (डिएसपी)पद थप गर्नुको साथै नगर प्रहरीको संख्या थप गर्न प्रस्ताव पेश गरेका हुन् ।
हाल भरतपुरमा प्रहरी निरीक्षकको कमाण्डमा ४५ जना नगर प्रहरी छन् । भरतपुरको जनसंख्या वृद्धि हुनुको साथै नगर प्रहरीको आवश्यकता थप देखिएकोले डिएसी पद थप गरेर नगर प्रहरीको संख्या बढाउन लागिएको नगर उपप्रमुख चित्रसेन अधिकारीले जानकारी दिए । उनका अनुसार ४९ जना दरबन्दीमा हाल ४५ जना नगर प्रहरी रहेकोमा अब ७५ जना पुर्याईने छ ।
उपप्रमुख अधिकारीले नगर प्रहरीलाई वारुण यन्त्रको समेत जिम्मेवारी दिइने छ ।–00–


