आर्थिक वर्षको नीति तथा बजेट कार्यक्रममा कृषिलाई प्राथमिकतामा राख्न कालिकाबासीको सुझाव- (फोटोकथा)

  • सिमोन चौधरी । सेतो नेपाल

कालिका, २१ जेठ । कालिका नगरपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा कृषि क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्ने सरोकारवालाहरुले सुझाव दिएका छन् । आर्थिक वर्ष २०८० / ०८१ को नीति तथा कार्यक्रम बजेट तयारीका लागि आज (आइतवार) आयोजना गरिएको रायसुझाव संकलन कार्यक्रममा यस्तो सुझाव दिएका हुन ।

वडा नं. १ का निवर्तमान वडा अध्यक्ष लिला गुरुङले कालिका नगरपालिका कृषियोग्य नगर भएकाले नीति तथा कार्यक्रममा कृषि क्षेत्रलाई प्राथमिकता दिएर अगाडी बढ्नुपर्ने बताए । जुटपानी र पदमपुरमा डीप बोरिङको व्यवस्थापनगर्ने र पहाडी क्षेत्र सिद्धी, शक्तिखोर क्षेत्रमा खोलानालाबाट सिंचाई जोड्नसके कृषि क्षेत्रमा फड्को मार्न सकिने सुझाव दिए । यसैगरी कालिका वडा नं. १ का रहेको तरकारी संकलन केन्द्रलाई पनि संचालनमा ल्याउन सुझाव दिए । संकलन केन्द्र तयार भएपनि संचालनमा ल्याउन सकिएको छैन उनले भने कर्मचारी भर्ना गरेर भएपनि सेवा केन्द्र संचालनमा ल्याउन सके तरकारीखेतीगर्ने कृषकहरुको उत्पादन विक्रीवितणगर्न सहता हुनेछ ।

यस्तै वडा नं. ५ का निवर्तमान अध्यक्ष कृष्ण श्रेष्ठले नहर व्यवस्थापनलाई नीति तथा कार्यक्रममा समेट्न सुझाव दिए । खगेरीखोलापारी पट्टी जंगलको बाटो क्षेत्रको हिसावले भरतपुर परेपनि प्रयोगको हिसावले कालिकाबासीले धेरै उपयोगगर्नुपर्ने भएकाले त्यो बाटोलाई केन्द्रीय बजेटका लागि प्राथमिकतामा राख्न समेत सझुवा दिए । यस्तै नगरअस्पतालको सेवा सुविधालाई थप गरेर निरन्तर सेवाप्रवाह गर्ने अस्पतालको रुपमा सुचारुगर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा निवर्तमान वडा अध्यक्ष डिल्लीराम दवाडीले पशुपालन देखि खेतिकर्ममा नागरिकलाई अभ्यस्त बनाउनुपर्नेमा जोड दिए । उत्पादनमुखी कार्यक्रम ल्याएर स्वरोजगार बनाउन सके बैदेशिक रोजगारीमा जानेहरुको संख्या घट्ने विश्वास व्यक्त गरे ।
यस्तै प्रध्यापक खिलानाथ पौडेलले शिक्षाको भौतिक पूर्वाधार सुधारहुँदै गएपनि नगरक्षेत्रका शैक्षिक संस्थाहरुमा पठनपाठनको गुणस्तर बृद्धिहुन नसकेको बताए । स्कुलको स्टेन्डर बढाउनेखालका कार्यक्रमहरु नीति तथा कार्यक्रममा समावेशगर्नुपर्नेमा जोड दिए ।
राय सुझाव संकलन कार्यक्रममा सहकारीकर्मी हिरामणी पोखरेलले हरेक वडामा कृषि प्राविधिक आवश्यक रहेको बताए । नगरक्षेत्रमा एउटा स्वच्छ ताजा फलफुल तथा तरकारी बजार आवश्यक रहेको सुनाए । यस्तै नगरक्षेत्रमा कृषि प्राविधिक शिक्षालय संचालन गर्न सुझाव दिए ।

कार्यक्रममा लाहुरे चोकका स्थानीय टेकबहादुर बस्नेतले नगर क्षेत्रमा बढ्दै गएको बजार क्षेत्रलाई व्यवस्थापनगर्ने नीतिलाई कार्यान्वयनगर्नुपर्नेमा जोड दिए । बजारमा पसल या व्यापार व्यवसाय संचालनपूर्वनै पूर्वाधार छ या छैन त्यसको अनुगमन गरेरस मात्रै अनुमति दिन नगरपालिकालाई सुझाव दिए ।

यस्तै नारायणप्रसाद पुडासैनीले शिक्षाको गुणस्तरका लागि शिक्षकहरुपनि जिम्मेवार हुनुपर्ने बताए । हरेक शिक्षकले आफ्नो विषयको जिम्मा लिनुपर्नेमा जोड दिए । नतिजा सुधारउन्मुख दिन नसक्ने शिक्षकलाई विदा दिने कि कार्वाहीगर्ने नियम ल्याउन सुझाव दिए ।
भीमवली सामुदायिक वनका अध्यक्ष जयचन्द्रप्रसाद चौधरीले नीतिगत तयारी नगरपालिकाले गर्नुपर्ने बताए । कालिका नगरपालिकाले आफ्नो बेग्लै पहिचान बनाउने खालको योजना ल्याउन सुझाव दिए ।

अन्य सहभागीहरुले सरसफाईलाई खानेपानीसँग जोडर फोहोरमैला व्यवस्थापनमा ध्यान दिन आवश्यक रहेको बताएका थिए । यस्तै कालिका नगरपालिकाले नगर क्षेत्रमा निशुल्क एम्बुलेन्स सेवाको व्यवस्थापनगर्न सुझाव दिएका थिए । स्थानीय व्यवसायिहरुको हक हितका लागि उद्योग बाणिज्य संघ गठन गर्ने बातावरण तयारपार्न सहयोगगर्नुपर्नेमा जोड दिए । नगर क्षेत्रमा सुधार केन्द्र, बृद्धआश्रम बनाउनका लागि बजेट विनियोजनगर्न आवश्यक रहेको उनीहरुको भनाई थियो । यस्तै खेलकुदमा समेत नगरपालिकाले विशेष ध्यान दिनु सुझाएका थिए । विद्यालय स्तरवाटै खेलकुदलाई प्रोत्साहनगर्न प्रत्येक एउटा विद्यालयमा एकजना खेलकुद प्रशिक्षक राख्ने व्यवस्थालाई नीति तथा कार्यक्रममा राख्न भनेको छ ।

यस्तै यहाँका आदिवासी जनजाति देखि प्रत्येक जातजातिको कला संस्कृति संरक्षणसँगै आर्यआर्जनका लागि होमस्टे कार्यक्रमलाई प्राथमिकता दिन सुझाव दिए । सबै जातजातिले नगर क्षेत्रमा होमस्टे संचालनगर्नुपर्ने खालको नीति तथा कार्यक्रममा बजेट राख्नुपर्ने बताएका छन् ।

उपमेयर विमला तामाङले स्वागत मन्तव्य राखेर सुरुभएको सुझाव संकलन कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत, स्थानीय जनप्रतिनिधि, विभिन्न टोल विकास संस्थाका प्रतिनिधि, विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधि, शैक्षिक संस्थाका प्रतिनिधि एवम नागरिक समाजका अगुवाहरुको सहभागीता थियो । नगरप्रमुख विनोद रेग्मीको अध्यक्षतामा कार्यक्रम आयोजना गरिएको थियो ।

यसैगरी जेठ २४ गते नगरक्षेत्रभित्रका सामुदायिक वनका पदाधिकारीहरुसँग नीति तथा कार्यक्रमको विषयमा रायसुझाव लिने कार्यक्रम छ । यस्तै जेठ २५ गते नगरक्षेत्रभित्रका खानेपानी तथा सरसफाईसंग सरोकार राख्नेहरुसँग सुझाव लिने कार्यक्रम रहेको नगर प्रमुख रेग्मीले जानकारी दिए । उनका अनुसार यसरी सुझाव लिइएको विषयलाई मसिनोसँग अध्ययन गरी उहाँहरुले दिनुभएको सुझावकै आधारमा आगामी आर्थिक वर्ष २०८० /०८२ को नीति तथा बजेट कार्यक्रम तयार पारिने छ ।

 

 

–00–

 

Share:

सम्बन्धित समाचारहरु