रिहा भए रेशम चौधरी, टिकापुरलाई छुट्टै जिल्ला बनाएर अघि बढ्छुः चौधरी

काठमाडौं, १५ जेठ । टीकापुर हत्याकाण्डका योजनाकार रेशम चौधरी गणतन्त्र दिवसमा आममाफी पाउँदै जेलमुक्त भएका छन् । डिल्लीबजार कारागारबाट निस्किदा उनलाई विजेता शैलीमा स्वागत गरियो ।

 

नागरिक उन्मुक्ति पार्टीका संरक्षकसमेत रहेका चौधरीको स्वागतमा बिहानैदेखि कारागार परिसरमा भिड लागेको थियो । टीकापुर हत्याकाण्डमा दोषी ठहर भएर तीनै तहको अदालतबाट जेल सजाय पाएका चौधरी गणतन्त्र दिवसको अवसरमा राष्ट्रपतिबाट आममाफी पाएसँगै छुटेका हुन् ।

उनको स्वागतका लागि श्रीमती एवं नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता चौधरी, नेतृ एलिजा गौतमसहित सयौं नेता कार्यकर्ता, शुभेच्छुक डिल्लीबजार कारागार पुगेका थिए ।

रेशमलाई फूलमालाले भव्य स्वागत गरिएको छ ।

 

चौधरीले आफूहरूले ‘मिसन २०८४’ थाल्ने उद्घोष गरेका छन् । डिल्लीबजार कारागारबाट छुटेपछि नेपाल प्रेसकर्मी भानुभक्त आचार्यलाई अन्तर्वार्ता दिँदै उनले मुलुकको सत्ताको बागडोर सम्हाल्ने मिसनका साथ अघि बढ्ने बताएका हुन् ।

 

‘अभियान २०८४ ले यो देशको नेतृत्व गर्ने मुलुकको बागडोर सम्हाल्छ । नागरिक उन्मुक्ति पार्टी प्रधानमन्त्री बन्छ’, उनले भने । रेशमले नयाँ सोचका साथ जातीयवादी सोचमात्र नभई सबै नेपालीको पहिचानका लागि लड्ने बताए ।

उनले देश बनाउन कानून, संविधानदेखि संरचना पुनरावलोकन हुनुपर्ने बताए ।

‘हामी राजनीतिमा होमिएका नेता हौं । देश बनाउन कानून, संविधान, न्यायालय, सुरक्षाकर्मी सबै कुराको पुनरावलोकन हुनुपर्छ’, उनले भने ।

 

सिमेन्टका पिलर नहुँदा सीमामा सालका ठूटा गाडेका थारुहरू असली भूमिपूत्र भएको भन्दै आफूहरूमाथि विभेद गरिएको गुनासो गरे । उनले टीकापुर घटनालाई सयौंले नियालेको बताउँदै आफू र आफ्नो सम्पत्तिमाथि पनि क्षति पुगेको बताए । उनले अब फर्किएर बदलावको भावना नभई समाज मिलाउने सपनाका साथ अघि बढ्ने बताए ।

‘टीकापुरमा मेरो घर, एफएम, रिसोर्ट जलाइयो । साढे ३ सयजतिको फोटो मसँग छ । उहाँहरू बुद्धिजिवी हुनुन्छ । उहाँहरूलाई कारबाही गरूँ त रु यसको मतलब म रिहा भएपछि तुरुन्त फर्किएर बदला लियौं भन्ने होइन । हाम्रो परिवारमा तीनजना मन्त्री सांसद भयौं । समाज मिलाउने दायित्व हाम्रो हो । जाडोघाम मिलाएर बस्नुपर्छ । त्यो समाज मिलाउन हाम्रो दायित्व हो । टीकापुर बनाउने मेरो सपना हो । टीकापुर बन्नुपर्छ’, उनले भने ।

रेशमले टीकापुरलाई छुट्टै जिल्ला बनाएर अघि बढ्ने आफ्नो अवधारणा सुनाए ।–00–

Share:

सम्बन्धित समाचारहरु