गोरखा, ७ जेठ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले भुटानी शरणार्थी प्रकरणमा बिनापूर्वाग्रह स्वतन्त्र र निष्पक्ष ढंगले अनुसन्धान अघि बढेको बताएका छन् ।
आइतबार प्रेस सेन्टर नेपाल गण्डकी प्रदेशको वार्षिक साधारणसभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै श्रेष्ठले उक्त प्रकरणका दोषी र अपराधी कुनै पनि हालतमा नछुट्ने बताए । ‘निष्पक्ष ढंगले बिनापूर्वाग्रह स्वतन्त्र ढंगले अनुसन्धान पक्रिया अघि बढाउन नेपाल प्रहरीलाई स्पष्ट निर्देशन दिएका छौ,’ उनले भने,‘निर्दोष कोहीलाई उसको सामाजिक प्रतिष्ठामा आँच आउने गरी अनावश्यक दुस्ख दिने गरी तानिने काम हुँदैन, दोषी र अपराधी कुनै पनि हालतमा छुट्दैनन्, यही दृष्टिकोण र मान्यताको आधारमा अघि बढेका छौँ ।’
भ्रष्टचारविरुद्धको अभियानलाई व्यवस्थित रुपमा अघि बढाउने सरकारको महत्त्वपूर्ण कार्यसूची रहेको उनले बताए ।
‘आफ्नै देशका नागरिकलाई अनागरिक बनाउँदै अर्को देशको शरणार्थी बनाएर विदेश पठाउने षड्यन्त्र गरेर पैसा आर्जन गर्ने, सम्पत्ति आर्जन गर्ने धन्दा भयो,’ उनले भने, ‘यस कार्यमा संलग्नलाई तथ्य र प्रमाणको आधारमा अनुसन्धान अघि बढाएर कानुनको दायरामा ल्याउने प्रक्रिया अघि बढिसकेको छ ।’ –00–


