काठमाडौं महानगरका अस्पताललाई बालेन्द्रको चेतावनी,विपन्नको उपचार निःशुल्क नगरे कारबाही

काठमाडौं, ७ जेठ । काठमाडौं महानगरपालिका प्रमुख (मेयर) बालेन्द्र शाहले आफ्नो महानगर क्षेत्रभित्रका अस्पतालहरूलाई उपचारका लागि आउने विपन्न, असहाय, बेवारिसे बिरामीका लागि कूल शय्याको १० प्रतिशत छुट्याई निःशुल्क उपचार गर्न निर्देशन दिएका छन्।

मेयर शाहले स्वास्थ्य संस्था सञ्चालन मापदण्ड २०७७, परिच्छेद २४ दफा ७० ९घ० मा सो व्यवस्था भएको उल्लेख गर्दै महानगरका अस्पतालहरूलाई त्यो कार्यान्वयन गर्न भनेका हुन्।स्थानीय सरकार सञ्चालन ऐन २०७४ दफा ११ ९४० ख २ मा स्वास्थ्य संस्थाको नियमन गर्ने कानुनी अधिकारसमेत स्थानीय तहलाई रहेको स्मरण उनले गराएका छन्।

 

काठमाडौँ महानगरपालिका क्षेत्रभित्र केन्द्र, प्रादेशिक, स्थानीय सबै प्रकृतिका स्वास्थ्य संस्था छन्। विद्यमान स्वास्थ्यसम्बन्धी ऐन, कानुन र मापदण्ड पूर्ण कार्यान्वयन गराउन प्रभावकारी कदम चाल्न विभिन्न क्षेत्रबाट सुझाव प्राप्त भएको मेयर शाहले उल्लेख गरेका छन्।

‘उक्त कार्यको लागि महानगर क्षेत्रभित्र रहेका अस्पतालहरूले प्रचलित कानुन र मापदण्डअनुसार लक्षित वर्गहरूलाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने, सेवाग्राही मैत्री सेवा प्रवाह गर्ने, स्वास्थ्य संस्थाहरूमा कार्यरत स्वास्थ्यकर्मी र अन्य कर्मचारीहरूको प्रचलित कानुनले तोकेको न्यूनतम पारिश्रमिक उपलब्ध गराउने, स्वास्थ्यजन्य फोहोरमैला व्यवस्थापन गर्ने, अस्पतालभित्र रहेका क्यान्टिनमा खाद्य गुणस्तर कायम गर्ने, अनावश्यक प्रयोगशाला परीक्षणको लागि सिफारिस नगर्नेजस्ता कार्यहरू सुधार गरी स्वास्थ्य सेवालाई सबै वर्ग, समूहको पहुँच योग्य बनाउन काठमाडौं महानगरपालिकाको निर्णयअनुसार सम्बन्धित सबैलाई यो सूचना जारी गरिएको छ’, मेयर शाहले भनेका छन्।

उल्लिखित विषयका अतिरिक्त लक्षित वर्गले निःशुल्क सेवा लिएका व्यक्तिहरूको विवरण टाँस गर्न तथा महानगरपालिका कार्यालयमा प्रत्येक महिना को १० गतेसम्म सो विवरण बुझाउन भनिएको छ। अन्यथा काठमाडौँ महानग पालिकाबाट नियमानुसार कारबाही हुने चेतावनी पनि सबै स्वास्थ्य संस्थालाई चेतावनी दिइएको छ।–00–

 

Share:

सम्बन्धित समाचारहरु