सुनसरी २६,माघ । मिस नेपाल-२०२३ को देशव्यापी अडिसनको सुरुआत इटहरीबाट हुने भएको छ । आयोजक संस्था दि हिडन ट्रेजरले बिहीबार इटहरीमा पत्रकार सम्मेलन गरी माघ २८ गतेबाट अडिसन हुन लागेको जनाएको हो ।
मिस नेपाल- २०२३ को इटहरीमा हुने अडिसनमा इच्छुकलाई सहभागी हुन हिडन ट्रेजरले आग्रह गरेको छ । सातै प्रदेशका प्रमुख सहरमा अडिसन गर्ने तयारीका लागि लागि मिस नेपालको टोली इटहरी आइपुगेको हो । इटहरीपछि वीरगन्ज, पोखरा, नेपालगन्ज, सुर्खेत, धनगढीमा अडिसन हुने र अन्त्यमा काठमाडौं अडिसन गर्ने तयारी रहेको ट्रेजरका अध्यक्ष दिवाकर राजकर्णिकारले बताए ।
अघिल्लो संस्करणदेखि मिस नेपालले देशव्यापी पहुँच पुर्याउन क्षेत्रीय अडिसनको थालनी गरेको राजकर्णिकारले बताए । मिस नेपाल–२०२३ का लागि आगामी जेठ १३ गते ललितपुरको गोदावरीमा ग्य्रान्ड फिनालेको आयोजना गरिने बताइएको छ ।–00–