राष्ट्रपति विद्यादेवी भण्डारीले अवकाशपछि सरकारबाट आवास सुविधा नलिने

"आफ्नै घरमा सर्ने तयारी"

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले अवकाशपछि सरकारबाट आवास सुविधा नलिने भएकी छन् । यसअघिका राष्ट्रपति डा. रामवरण यादवले काठमाडौंमै घर हुँदाहुँदै सरकारले भाडामा लिइदिएको घरमा बस्दै आएको नजिर राष्ट्रपति भण्डारीले तोड्ने भएकी हुन् । शीतल निवास स्रोतका अनुसार राष्ट्रपतिबाट अवकाश भएपछि भण्डारी आफ्नै निजी निवासमा सर्नेछिन् । बुढानिलकण्ठ नगरपालिका वडा नम्बर २ चपलीस्थित माथिल्लो भंगालमा उनको निजी निवास छ । केही दिनअघि मात्रै सो निवासको जिर्णोद्वार गरेर बस्नलायक बनाइएको थियो ।

राष्ट्रपति कार्यालयले सरकारलाई अवकाशपछि बस्न आवास बनाइदिनुपर्ने प्रस्ताव गरेको तर, सरकारले उनकै जग्गामा घर बनाइदिन लागेको भनि केही मिडियामा प्रकाशित समाचारलाई शीतल निवास स्रोतले खण्डन गर्यो । ‘यो राष्ट्रपतिज्यूलाई विवादमा पार्न सुनियोजितरुपमा गरिएको दुष्प्रचार हो,’ स्रोतले भन्यो, ‘राष्ट्रपति कार्यालयबाट त्यस्तो केही पनि प्रस्ताव गएको छैन । अवकाशपछि सरकारी आवास सुविधा नलिनेमा राष्ट्रपतिज्यू स्पष्ट हुनुहुन्छ ।’

राष्ट्रपतिको काठमाडौंमा घर भएको बाहेक अर्को जग्गा नरहेको पनि स्रोतको भनाइ छ । अहिले घर भएको जग्गा उनले २० वर्षअघि खरिद गरेकी थिइन् । घर बनाएको पनि करिब १५(१६ वर्ष भइसकेको छ । भण्डारी शीतलनिवास सरेपछि त्यो घर उनका भाइले रेखदेख गर्दै आएका छन् । ‘राष्ट्रपतिले आफ्नो घर मर्मत र रंगरोगनका लागि पनि सरकारलाई गुहार्नुभएन,’ स्रोत भन्छ, ‘आफ्नो जग्गामा घर बनाइदिने कुरा त झन् हास्यास्पद हो । औपचारिक वा अनौपचारिक रुपमा यस विषयमा कुनै पनि सरसल्लाह भएको छैन ।’

राष्ट्रपति कार्यालयले मुख्यसचिवको कार्यालयलाई राष्ट्रपतिको अवकासपछि समन्वय गरिदिन पत्राचार गरेको थियो । राष्ट्रपतिका प्रेस विज्ञ टिका ढकालका अनुसार उक्त पत्रमा निवासको विषयमा केही पनि उल्लेख गरिएको छैन । उनले भने, ‘राष्ट्रपतिको पदावधि सकिने मितिबारे औपचारिक जानकारी सरकारबाट गराइनुपर्ने तथा सुरक्षा समन्वय गर्नुपर्ने भएकाले एउटा पत्र पठाइएको थियो । राष्ट्रपतिज्यू अवकाशपछि आफ्नै निजी निवासमा सर्ने तयारीमा रहनुभएकाले आवासका सम्वन्धमा सरकारसँग औपचारिक वा अनौपचारिक केही पनि प्रस्ताव गरिएको छैन । न त कुनै सरकारी निकायले नै केही तयारी गरेको हाम्रो जानकारीमा आएको छ ।’

सरकारले पूर्वपदाधिकारी दिने सुविधाबारे स्पष्ट कानून बनेको छैन । मन्त्रीपरिषदको निर्णयका आधारमा पूर्वपदाधिकारीहरुले सुविधा भोग गर्दै आएका छन् । पूर्वराष्ट्रपति यादवले मन्त्रीपरिषद निर्णयबाटै आवास लगायत विभिन्न सुविधा लिएका हुन् । उनको निजी घर बागडोलमा सुनसान छ भने त्यही नजिकै सरकारले उनलाई मासिक दुई लाख (प्रत्येक वर्ष बढ्ने गरी) को घर भाडामा लिएर राखेको छ । त्यसबाहेक पनि उनी उपचार लगायतका बहानामा सरकारबाट पैसा लिइरहन्छन् ।

Share:

Facebook
Twitter
Email
WhatsApp
Pinterest

सम्बन्धित समाचारहरु