भदौ ६, काठमाडौं । चुनावी तालमेल र सिट बाँडफाँटबारे सत्ता गठबन्धन सहमति नजिक पुगेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको बैठकमा प्रतिनिधिसभा एवं प्रदेशसभा निर्वाचनमा तालमेल गर्ने विषयमा लगभग सहमति नजिक पुगेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।
बैठकपछि कार्कीले भने, ‘आजको बैठकमा सिट बाँडफाँटबारे छलफल भएको छ। सिट फाँडफाँट र त्यसपछिको अवस्थाबारे छलफल भयो। नेताहरुले आ(आफ्नो कुरा राख्नुभयो। निष्कर्षको नजिकमा पुगेका छौं। बैठक बसेर टुंगोमा पुर्याउँछौं।’ बैठक मंगलबार ३ बजे पुनः बस्ने छ।
गठबन्धनले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सिट बाँडफाँट गर्न कृष्णप्रसाद सिटौला नेतृत्वको कार्यदल गठन भएको थियो।
कार्यदलले सिट बाँडफाँटको खाका तय गरिसकेको छैन। कार्यदलले आफ्नो जिम्मेवारी पूरा गर्न नसकेपछि सिट बाँडफाँटको जिम्मा नेतृत्व तहलाई नै दिइएको छ।