प्रतिनिधिसभा र प्रदेश सभाको चुनाव मंसिर ४ गते एकैचरणमा

"चुनावका लागि सबै ढंगले तयार छौं : प्रमुख निर्वाचन आयुक्त थपलिया"

काठमाडौँ — सरकारले आगामी मंसिर ४ गते प्रतिनिधिसभा सदस्य र प्रदेश सभाको निर्वाचन गर्ने घोषणा गरेको छ । बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले आगामी २०७९ साल मंसिर ४ गते आइतबार एकैचरणमा प्रतिनिधिसभा सदस्य र प्रदेश सभाको निर्वाचन गर्ने घोषणा गरेको हो ।

निर्वाचन आयोगले एक महिनाअघि नै १२० दिनको निर्वाचन अवधि राखेर कार्यतालिकासहित मंसिर २ गते निर्वाचनको मिति तोक्न सिफारिस गरेको थियो । तर, सरकारले १०७ दिनको निर्वाचन अवधि राखेर मंसिर ४ गतेका लागि प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति तोकेको हो ।

मन्त्रिपरिषद् बैठकले मंसिर ४ गते निर्वाचन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार सत्ता गठबन्धनका शीर्ष नेताहरूसँग छलफल गरी मंसिर ४ गते नै प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचन गर्ने सहमति जुटाएका थिए ।

 

यता प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले सरकारले घोषणा गरेको मितिमा निर्वाचन गर्न आयोग सबै ढंगले तयार रहेको बताएका छन् । उनले कानुनबमोजिम १२० दिनको निर्वाचन अवधि माग गरिएको भए पनि आयोगको परामर्शमै सरकारले निर्वाचनको मिति तोकेको भन्दै चुनावका लागि आयोग सबै ढंगले तयार रहेको बताए ।

‘सरकारले मंसिर ४ का लागि चुनावको मिति तोकेको छ । यो आकस्मिक होइन, अपेक्षित हो । आयोगको परामर्शमै भएको निर्णय हो,’ थपलियाले इकान्तिपुरसँग भने, ‘हामी मंसिर ४ गते एकै चरणमा निर्वाचन गर्न सबै ढंगले तयार छौँ ।’

Share:

Facebook
Twitter
Email
WhatsApp
Pinterest

सम्बन्धित समाचारहरु