नेकपा एसका मन्त्री फेर्न प्रधानमन्त्री असहमत,नेकपा एसमा विवाद चर्कियो

काठमाडौं,जेठ २३

नेकपा एकीकृत समाजवादी ९एस० ले आफ्नो पार्टीबाट सहभागी भएका मन्त्री फेर्न गरेको प्रस्ताव विवादमा परेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले नै त्यसलाई अस्वीकार गरिदिएका छन् ।

बजेटको विषयमा संसद्‍मा छलफल चल्दै गर्दा सम्बन्धित मन्त्रीलाई परिवर्तन गर्नु उचित नहुने भन्दै नेकपा एसका मन्त्रीहरुले प्रधानमन्त्री देउवासँग आग्रह गरेका थिए । यस्तै उनीहरुले आइतबार नै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई पनि भेटेर आफ्ना अध्यक्ष माधव नेपाललाई सम्झाइदिन दबाब दिएका थिए । त्यसपछि सोमबार बिहान यस विषयमा छलफल गर्न शीर्ष नेताको बैठक बोलाएका थिए । बैठकमा अहिले मन्त्री फेर्दा अन्य दलमा पनि फेरबदलको दबाब बढ्ने र त्यसले सत्ता गठबन्धनको निरन्तरतामै समस्या उत्पन्न हुनसक्ने जोखिमबारे समीक्षा भएको थियो । त्यसको असर बजेट पारित गर्ने कार्यमै पर्न सक्ने देखिएपछि तत्कालका लागि मन्त्रिपरिषद् पुनर्गठन नगर्ने निष्कर्षमा प्रधानमन्त्री पुगेका हुन् ।

बालुवाटार स्रोतका अनुसार आइतबार बिहान प्रधानमन्त्री देउवा र नेकपा एसका अध्यक्ष नेपालबीच कुराकानी भएको थियो । उक्त कुराकानीमा नेपालको आग्रहमा प्रधानमन्त्रीले सकारात्मक संकेत दिएका थिए । त्यसपछि नेपालले पार्टीको सचिवालय बैठकबाट बहालवाला मन्त्री फिर्ता बोलाई नयाँ पठाउने निर्णय गरेका थिए । त्यसका लागि चारजनाको नाम र मन्त्रालय समेत तोकेर प्रधानमन्त्रीलाई जानकारी गराएका थिए ।

पार्टीको निर्णयपछि मन्त्रीहरुले आपत्ति जनाउँदै प्रधानमन्त्रीलाई निर्णय रोक्न दबाब दिएपछि देउवा पछि हटेका हुन् । त्यसपछि सोमबार बिहान प्रधानमन्त्री देउवाले सत्तागठबन्धनको बैठक बोलाए । बैठकमा सत्तागठबन्धन र बजेटमा आउने संकट देखाएर देउवा तत्काल मन्त्री नबदल्ने निर्णयमा पुगेका हुन् ।

Share:

Facebook
Twitter
Email
WhatsApp
Pinterest

सम्बन्धित समाचारहरु