नयाँ वर्षका अवसरमा बिहानैदेखि पशुपतिनाथमा दर्शनार्थीको भिड,चारै ढोका खुला

बैशाख १ काठमाण्डौ । नयाँ वर्षको अवसरमा पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको भिड लागेको छ ।

दर्शन गर्ने भक्तजनको भिड बढेपछि दर्शनका लागि विशेष व्यवस्था गरिएको छ । आज बिहान ४ बजेदेखि नै पशुपतिका चार ढोका खुला गरिएको पशुपति क्षेत्र विकास कोष संस्कृति संरक्षण महाशाखा प्रमुख गौरीशङ्कर पराजुलीले जानकारी दिनुभयो ।

आज पशुपतिनाथ आउने भक्तजनलाई उत्तर, पश्चिम र दक्षिण मूल ढोकाबाट दर्शन गर्न जान सक्ने गरी व्यवस्था गरिएको छ ।पश्चिम मूलढोकामा विशेष सजावट पनि गरिएको छ । महानगरीय प्रहरी वृत्त गौशालासँग थप जनशक्ति लिएर शान्ति सुरक्षाको प्रबन्ध पनि मिलाइएको कोषको संस्कृति महाशाखा प्रमुख पराजुलीले बताउनुभयो । नयाँ वर्षका अवसरमा विशेष पूजा गर्न चाहने भक्तजनका लागि पनि व्यवस्था मिलाइएको छ।

विगत वर्षदेखि नै वैशाख १ गते पनि पशुपतिनाथ मन्दिरमा लाखौँ भक्तजनको भीड लाग्ने गरेको थियो । दर्शनार्थीको चापलाई हेरेर पशुपति क्षेत्रको सुरक्षा व्यवस्था मिलाइएको कोषले जनाएको छ । नयाँ वर्षका अवसरमा नेपालभरका सरकारी कार्यालय, सार्वजनिक संस्थान एवं शिक्षण संस्थामा सार्वजनिक बिदा दिइएको छ ।

काठमाडौँको उत्तरी भेगस्थित गोकर्णेश्वर र बूढानीलकण्ठ नगरपालिकाको सङ्गममा रहेको बाग्द्वार (बाग्मती नदीको उद्गमस्थल), टोखा नगरपालिकास्थित सपनतीर्थ, भक्तपुरमा मनाइने बिस्केट जात्रा, कीर्तिपुरस्थित चम्पादेवीमा लाग्ने जात्रालगायत देशभर लाग्ने मेलामा भक्तजनको भीड बढ्छ ।

Share:

Facebook
Twitter
Email
WhatsApp
Pinterest

सम्बन्धित समाचारहरु