चैत २३ काठमाण्डौ । कङ्गोमा शान्ति मिसनको क्रममा विद्रोहीको आक्रमणमा ज्यान गुमाएका नेपाली सैनिक सुर्खेतको गुर्भाकोट–१४ का अनिल गुरुङ रहेका खुलेको छ ।
अपरेसन ‘बाली’को दौरान मंगलबार विद्रोहीले अज्ञात स्थानबाट अचानक चलाएको गोली लागी गुरुङ घाइते भएका थिए । घाइते नेपाली शान्ति सैनिकलाई हेलिकप्टरमार्फत उपचारको लागि बुनियाँस्थित लेबल–२ अस्पतालमा लगिएको थियो । शान्ति सेनाको पहिलो डफ्फा कङ्गोमा खटिएका गुरुङको उपचारका क्रममा ज्यान गएको नेपाली सेनाले पुष्टि गरेको छ ।प्रधान सेनापति महारथी प्रभुराम शर्माले ज्यान गुमाएका गुरुङप्रति श्रद्धाञ्जली तथा परिवारमा समवेदना प्रकट गर्नुभएको छ ।
संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले यसअघि नै शोक विज्ञप्ति निकालेर मृतक नेपाली सैनिकप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । साथै शान्ति सेनामाथि भएको आक्रमणको निन्दा गर्दै उहाँले घटनाको छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन कङ्गोका अधिकारीलाई आग्रह गर्नुभएको छ ।
सिंगो नेपाली सेनालाई नै स्तब्ध बनाएको यस दुःखद् घडीमा शोक सन्तप्त परिवारजनप्रति नेपाली सेनाले समवेदना प्रकट गरेको छ ।