चैत २१ चितवन । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा बाघको आक्रमणबाट एक पुरुषको मृत्यु भएको छ ।
बाघको आक्रमणबाट माडी नगरपालिका–९ बाँदरझुलाका ३९ वर्षीय सुरेश विकको मृत्यु भएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो ।
भरतपुर महानगरपालिका–२३ मा रहेको निकुञ्जको दोभान मध्यवर्ती सामुदायिक वनमा हिजो बेलुका विकलाई बाघले आक्रमण गरेको थियो । आफन्तको घरमा बस्दै आएका उहाँलाई घाँस काट्न जाने क्रममा बाघले आक्रमण गरेको निकुञ्जका सूचना अधिकारी तिवारीले बताउनुभयो । बाघको आक्रमणबाट विकको घटनास्थलमा नै मृत्यु भएको जनाइएको छ । विकको शव नजिकैको हरियाली सामुदायिक वनमा भेटिएको निकुञ्जले जनाएको छ ।