चैत ४ काठमाण्डौ । काठमाण्डौको वसन्तपुरमा गाडिएको चीर ढालेर टुँडिखेलमा दहन गरिएको छ । यसपटक बिहान चार बजेर २७ मिनेटको साइतमा वसन्तपुरमा गाडिएको चीर ढालिएको हो ।
चीर ढालेसँगै त्यसमा टाँगिएका कपडा खोसाखोस भएको थियो । फागु पूर्णिमा मनाएसँगै हर्षबढाइँ गरेर चीर ढालेपछि त्यसलाई बोकेर हनुमानढोका, इन्द्रचोक, न्युरोड हुँदै टुँडिखेल लगेर जलाइएको छ । चीर ठड्याएकसँगै फागु अर्थात् होली पर्व सुरु हुने र चीरको दहनसँगै सम्पन्न हुने पौराणिक मान्यता छ ।
काठमाण्डौको हरेक सांस्कृतिक परम्परा र जात्रामा विशेष पोसाकसहितको गुर्जुको पल्टन उपस्थित हुन्छन् । चीर दहन गर्ने दिन टुँडिखेलको मध्य भागमा रहेको रुखमा गुरुमापा राक्षसलाई भोज खुवाउने चलन समेत छ ।