चैत ४ काठमाडौं । रंगहरूको पर्व फागु पूर्णिमा (होली) तराई तथा मधेसका जिल्लाहरूमा आज हर्सोलासपूर्वक मनाइँदै छ ।
पहाडी जिल्लामा बिहीबार नै फागु अर्थात् होली मनाइएको थियो। मधेस तथा तराईका जिल्लाहरूमा भने आज होली मनाइँदै छ ।होलीका अवसरमा केन्द्र सरकारले १ दिन सार्वजनिक बिदा दिएको छ । पहाडी जिल्लामा बिहीबार सार्वजनिक बिदा दिइएको भए पनि तराईका जिल्लामा आज छुट्टी छ ।
स्थानअनुसार मनाइने फागु पुर्णिमाको नाम पनि फरक फरक छ । हिमाली र पहाडी भेकमा ‘फागु’ र मधेशमा ‘होली’ भनिन्छ । मैथिली भाषामा भने होलीलाई ‘फगुआ’ र ‘होरी’ भानिन्छ ।वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने होली पर्वमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ।
तराई–मधेशका अधिकांश क्षेत्रमा पूर्णिमाको भोलिपल्ट होली पर्व मनाइने चलन भए पनि प्राचीन मिथिलाको राजधानी जनकपुधाममा अन्तरगृह परिक्रमा सकेको भोलिपल्ट होली पर्व मनाइने गरिएको छ । पन्ध्र दिने मिथिला परिक्रमा सहभागी तीर्थयात्री जनकपुधामको परिक्रमा गरी आआफ्नो गन्तव्यमा पुग्ने गरेका कारण होली मनाइने चलनमा यहाँ केही फरक देखिएको हो ।
कोरोना संक्रमणको जोखिम कम भएको कारण यस वर्षको होलीमा विषेश उल्लास छ। यसअघिका दुई वर्ष कोरोना संक्रमणाको कारण होली पर्व खल्लो भएको थियो। गृहमन्त्रालयले होलीमा कसैको इच्छा विपरित जबर्जस्ती रंग नदल्न, लोला नहान्न आग्रह गरेको छ। होलीका नाममा उच्छृंखल गतिविधि गरे कारबाही गर्ने चेतावनी प्रहरीले दिएको छ।
मधेस प्रदेशको राजधानी जनकपुरधाममा होलीलाई शान्त र मर्यादित बनाउँन मासु तथा मदिराको विक्री वितरणमा स्थानीय प्रशासनले रोक लगाएको छ।जिल्ला प्रशासन कार्यालय धनुषाले बुधबार विज्ञप्ति जारी गर्दै चैत ३ र चैत ४ गते सूर्योदयदेखि सूर्यास्तसम्मका लागि जनकपुरधाम क्षेत्रमा मासु तथा मदिरा बिक्रीवितरण तथा सेवन निषेध गरिएको जानकारी दिएको हो। मिथिला मध्यमा परिक्रमाका क्रममा दुई दिनसम्म जनकपुरधाममा मासु तथा मदिराको विक्री वितरण र सेवनमा निषेध गरिएको हो।