फागुन २५ लमजुङ । स्थानीय प्रशासनले लमजुङको सिउँडीबार क्षेत्रमा आज(बुधबार)बिहानैदेखि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ।
सुन्दरबजार नगरपालिका ९ मा रहेको फ्युचरस्टार आवासीय विद्यालयमा कक्षा १० मा पढ्ने १८ वर्षीय छात्र सनिज श्रेष्ठको मृत्युपछि सो क्षेत्रमा कर्फ्यू लगाइएको छ।मर्स्याङ्दी नदीमा पौडी खेल्ने क्रममास् श्रेष्ठको मृत्यु भएको थियो।
छात्रको मृत्युको विषयलाई लिएर उत्पन्न विषम परिस्थितिलाई मध्यनजर गरी कर्फ्यू लगाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। सो क्षेत्रमा प्रहरीले माइकिङ गरेर निषेधाज्ञा गरिएको जानकारी पनि गराएको थियो।
छात्राबासका वार्डेनले मंगलबार विद्यार्थीलाई नदीमा पौडी खेल्न लगेका थिए। तर, पौडी खेल्ने क्रममा कक्षा १० मा अध्ययनरत श्रेष्ठको निधन भएपछि आफन्तले फ्युचरस्टार स्कुलको गेट तोडफोड गरेका थिए। उनीहरूले २ वटा स्कुल बस, गाडी र भ्यान तोडफोड गरेपछि स्थिति नियन्त्रणमा लिन कर्फ्यु जारी गर्नुपरेको लमजुङका प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले जानकारी दिए।
सुन्दरबजार नगरपालिका ७ पूर्वदक्षिणमा रहेको पाउदी पुल, पूर्वतर्फ राइनासबाट पाउदीतर्फ आउने मर्स्याङ्दी पुल, पश्चिमतर्फ सुन्दरबजार ९ मा रहेको मध्यमर्स्याङ्दी जलविद्युत् केन्द्रको आवास क्षेत्रको मुलगेट अगाडिको पक्की सडक र उत्तरतर्फ सुन्दरबजार ९ मा रहेको सिउडीबार चोकसमेत चार किल्ला भित्रको क्षेत्रमा स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ उपदफा ३ अनुसार निषेधाज्ञा जारी गरिएको सूचनामा उल्लेख छ।