फागुन २१ काठमाडौं । नेपालमा ‘विन्टर’ अर्थात् हिउँद याम सकिएर ‘प्रि–मनसुन’ सुरु भइसकेको मौसमविद्ले बताएका छन्।
अंङ्ग्रेजी महिना मार्चदेखि शुरु हुने प्रि–मनसुन मे महिनासम्म चल्ने गर्छ । प्रि–मनसुन भनेको हिउँद सकिएको र मनसुन अर्थात् वर्षा याम सुरु हुनुभन्दा अघिको समय हो।
योसँगै अब देशभर तापक्रम बढ्ने क्रम सुरु भएको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् मञ्जु बासीले जानकारी दिइन्। उनका अनुसार फेब्रुअरीसम्म विन्टर थियो, यही मार्च १ देखि प्रि–मनसुन लागेको हो।यो सिजन ३ महिना अर्थात् अंग्रेजी महिना मेसम्म रहने मौसमविद् बासीले बताइन्।प्रि–मनसुन अवधिमा दिनभर घाम लाग्ने र अपरान्ह तथा साँझापख पहाडी भूभागका केही स्थानमा फाट्टफुट्ट वर्षा हुने सम्भावना हुन्छ।यो समयमा अपराह्न तथा साँझतिर मेघगर्जनरचट्याङका साथै हावाहुरी र असिना पानीको सम्भावना हुन्छ।पहाडी भेगमा प्रि–मनसुनको प्रभाव देखिए पनि अन्य स्थानमा भने त्यसको असर पर्ने छैन। यस समयमा पश्चिमी वायुको प्रभाव स्थानीय वायुसँग जोडिँदा बलियो भएर चट्याङ पर्ने गर्छ।
यसैबीच देशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली तथा अन्य भू–भागमा आजको मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।