भक्तपुरको ऐतिहासिक रानीपोखरी सर्वसाधारणका लागि खुला

फागुन १८ भक्तपुर । भक्तपुरको ऐतिहासिक रानीपोखरीको जिर्णोद्धार सकिएको छ। पोखरीको मंगलबार एक कार्यक्रमबीच उदघाटन गरियो। पोखरीको नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले उदघाटन गरेका हुन्। पोखरी मंगलबारदेखि नै सर्वसाधारणका लागि प्रवेश खुला गरिएको छ।

पोखरी पहिले नेपाली सेनाको कब्जामा थियो। साथै घाँसे मैदानको रूपमा थियो। तर अहिले त्यही पोखरीलाई आकर्षक बनाइएको छ। रानीपोखरी १५ सय रोपनी ५ आना २ पैसा नापीमा उल्लेख छ। यसको उत्तरमा तीन सय ७७ फिट, दक्षिणमा तीन सय ७६, पूर्वमा दुई सय २१ फिट र पश्चिममा दुई सय २० फिट रहेको छ।

रानीपोखरीको सुरुआतमा घाँस मात्र सफा गर्न नगरपालिका ८५ लाख स्टिमेट गरेको थियो। जसमा १७ लाख १६ हजार ३ सय ७४ रुपैयाँ खर्च भएको जनाएको छ। रानीपोखरीको पुनर्निर्माण १ माघ ०७५ बाट सुरु भएको थियो।पोखरीका लागि कुल चार करोड ४१ लख १९ हजार एक सय ६४ रुपैयाँं २९ पैसाका लागत स्टिमेट निकालिएको थियो। तर लागत स्टिमेटभन्दा झन्डै आधा खर्चमै काम सकेको भक्तपुर नगरपालिकाले जनाएको छ। कुल दुई करोड ५४ लाख ८३ हजार पाँंच सय ८७ रुपैयाँं ४७ पैसाबाट काम सम्पन्न भएको नगरपालिकाले जनाएको छ। उपभोक्ता समितिबाट काम भएकाले लागतभन्दा आधा सस्तोमा काम सकिएको हो।

नेपाल संवत् ७५० मा जगज्योति मल्लको पालामा निर्माण भइ राजा जितामित्र मल्लले पुनःनिर्माण गरेको रानीपोखरीको नगरपालिकाले पुनः जीर्णोद्धार गरेको नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले बताउनुभयो । उहाँले कला संस्कृति जोगाउनु नै मानव समाजको विकास भएको उल्लेख गर्दै सार्वजनिक र सांस्कृतिक सम्पदा नाश हुनुमा सरकारी कर्मचारीको लापर्बाही भएको पनि बताउनुभयो ।पुरातत्व विभाग, प्रशासन र मालपोत कर्मचारीको मिलेमतोमा सांस्कृतिक सम्पदा नै व्यक्तिको नाममा जाने भन्दै उहाँले सम्पदा र सार्वजनिक सम्पत्तिको रक्षा गर्ने कार्य पालिकाहरुको जिम्मा लगाउनुपर्नेमा जोड दिनुभयो ।

Share:

Facebook
Twitter
Email
WhatsApp
Pinterest

सम्बन्धित समाचारहरु