काठमाडौं, असोज ३० – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको सम्पूर्ण मतगणना शुक्रबार बिहान सकिएको छ। असोज २३ गते रातिदेखि सुरु भएको मतगणना करिब एक सातामा सम्पन्न भएको हो।
मधेश र बागमती प्रदेशको अन्तिम मतपरिणाम आएसँगै सबै पदको मतगणना सकिएको निर्वाचन समितिले जनाएको छ। निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार बाँकी पदको मतगणना पनि बिहीबार राति नै सकिएको थियो। लुम्बिनी, गण्डकी, उपत्यका, श्रमिक, शहीद परिवार तथा द्वन्द्वपीडितको तर्फबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरूको मतगणना राति नै सम्पन्न भएको थियो। त्यसैगरी सहमहामन्त्रीसहित खुला तथा महिला केन्द्रीय सदस्यका लागि खस आर्य र थारू समूहको मतगणना पनि सकिएको कटुवालले जानकारी दिए।
सबै पदको मतपरिणाम रुजु गर्ने काम भइरहेको र केही समयमै नतिजा सार्वजनिक गर्ने तयारी रहेको उनले बताए। अन्य पदको मतगणना यसअघि नै सम्पन्न भइसकेको थियो।
असोज २३ गते मतदान सम्पन्न भएपछि सोही राति सभापति पदको मतगणना सुरु गरिएको थियो। राष्ट्रिय सभागृहमा गरिएको सभापति पदको मतगणनाको परिणाम असोज २४ गते बिहान सार्वजनिक भएको थियो। अन्य पदको मतगणना भने असोज २४ गते रातिदेखि पार्टी केन्द्रीय कार्यालय बीपी नगर, सानेपामा गरिएको थियो।
निर्वाचन समितिका सदस्य सचिव कटुवालका अनुसार १४औँ महाधिवेशनमा चार हजार ७०० मतदाताको मतगणना गर्न १२ दिन लागेको थियो। यसपटक सात हजार ३९२ मतदाताको मतगणना एक सातामै सकिएको उनले बताए।
मतगणना सुरु भएदेखि नै दिनरात गरी करिब २५ समूह बनाएर गणना गरिएको थियो। यसपटक झन्डै एक लाख ६२ हजार मतपत्र गणना गर्नुपरेको कटुवालले जानकारी दिए। उनका अनुसार कुल २२९ पदका लागि निर्वाचन भएको थियो भने ७७ प्रकारका पद रहेका थिए। प्रत्येक मतदाताले २३ वटा मतपत्रमार्फत मतदान गर्नुपर्ने व्यवस्था थियो।
अघिल्लो महाधिवेशनको तुलनामा यसपटक दोब्बरभन्दा बढी छिटो मतगणना सम्पन्न भएको कटुवालको दाबी छ। मतदान र मतगणनाका क्रममा कुनै विवाद नभएको तथा निर्वाचन सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको उनले बताए।
नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यलाई प्रमाणपत्र वितरण र शपथग्रहण कार्यक्रम दशैँलगत्तै गर्ने तयारी गरिएको छ। त्यसपछि नयाँ कार्यसमितिको पहिलो बैठक बस्ने नेताहरूले बताएका छन्। पहिलो बैठकबाटै आगामी स्थानीय तह निर्वाचनको तयारी र रणनीतिसम्बन्धी खाका बनाउने तयारीसमेत रहेको जनाइएको छ।

